समाचार

देशभरका म्यानपावर कम्पनी अनिश्चितकालका लागि बन्द

नवलपुर टुडे
२०८३ भदौ १ | बिहान ०९:०५ बजे

काठमाडौं नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना विभिन्न मागहरूप्रति सरकार उदासीन बनेको भन्दै आज (सोमबार) देखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनीहरूको सेवा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। आजदेखि लागू हुने गरी संघले आफ्ना सदस्य व्यवसायीहरूका कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रियासमेत अनिश्चितकालका लागि रोकेको जनाएको छ।

व्यवसायीहरूले आफ्ना पेसागत मागहरू सम्बोधन गर्न सरकारलाई पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर कडा कदम चाल्नुपरेको बताएका छन्। संघले यसअघि चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत नयाँ विज्ञापन प्रकाशन, पूर्व तथा अन्तिम श्रम स्वीकृति र भिसा स्ट्याम्पिङलगायतका प्रक्रिया रोक्ने निर्णय गरिसकेको थियो।

पहिले नै श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकहरूलाई गन्तव्य मुलुक पठाउन दिइएको निश्चित समयसीमा समाप्त भएसँगै संघले कार्यालय तथा सम्पूर्ण प्रशासनिक काम–कारोबार पूर्ण रूपमा ठप्प पारेको हो। व्यवसायीहरूको यस निर्णयका कारण दैनिक हजारौँको संख्यामा वैदेशिक रोजगारीमा जाने प्रक्रियामा रहेका युवाहरूको यात्रा र कागजी प्रक्रिया प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ।

कमेन्टहरु