एभोकाडोकै लागि मेक्सिकोले गर्यो १५०० सैनिक परिचालन


मिचोआकान । मेक्सिकोले प्रमुख एभोकाडो उत्पादन क्षेत्र मिचोआकानमा १५०० भन्दा बढी सैनिक तथा नेसनल गार्डका सुरक्षाकर्मी परिचालन गरेको छ । अमेरिकाले सुरक्षा जोखिम देखाउँदै मिचोआकानबाट एभोकाडो निर्यातका लागि आवश्यक निरीक्षण अस्थायी रूपमा रोकेपछि मेक्सिकोले यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको हो ।
अमेरिकी कृषि विभाग (यूएसडीए)का अधिकारीले निर्यातअघि एभोकाडोको अनिवार्य निरीक्षण गर्ने गर्छन् । ती निरीक्षण रोकिएपछि मिचोआकानबाट अमेरिकी बजारतर्फ नयाँ एभोकाडोको नयाँ लट पठाउन समस्या उत्पन्न भएको छ । अमेरिकाले अगस्ट ५ मा मिचोआकानमा अमेरिकीका लागि खतरा रहेको भन्दै सरकारी गतिविधि अस्थायी रूपमा रोकेको थियो ।
क्षेत्रमा लामो समयदेखि संगठित अपराध र एभोकाडो व्यवसायीमाथि जबर्जस्ती रकम असुलीको समस्या छ । यही सुरक्षा जोखिमका कारण विगतमा पनि अमेरिकी निरीक्षण प्रभावित भएको थियो । पछिल्लो घटनापछि मेक्सिको र अमेरिकी अधिकारीहरू निरीक्षण पुनः सुरु गर्ने उपायबारे छलफल गरिरहेका छन् ।
हालको अस्थायी रोकले तत्काल अमेरिकी बजारमा ठुलो अभाव नहुने मेक्सिकाको एभोकाडो संघले जनाएको छ । बजारमा रहेको भण्डार र आपूर्ति शृङ्खलामा रहेका उत्पादनले निकट अवधिको माग धान्न सक्ने उसको भनाइ छ । तर निरीक्षण लामो समयसम्म रोकिएमा किसान, निर्यातकर्ता, ढुवानी व्यवसाय र अमेरिकी उपभोक्तामाथि ठुलो असर पर्न सक्ने जनाइएको छ ।






















