बिश्व

एल निनोको चर्को गर्मी र खडेरीकै कारण इन्डोनेसियामा नुन उत्पादन आकासियो

एजेन्सी
२०८३ साउन २१ | मध्यान्ह ०१:०४ बजे

चिरेबोन । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तका नुन किसानहरूले एल निनोका कारण उत्पन्न खडेरीबाट प्रशस्त फाइदा उठाइरहेका छन् । अर्कोतर्फ, बाली उत्पादन गर्ने किसानहरू भने चर्को गर्मीका कारण लामो समयसम्म चुनौती सामना गर्नुपर्ने अवस्थाको तयारीमा छन् ।

दक्षिणपूर्वी एसियाको विशाल उष्णकटिबन्धीय द्वीपसमूह इन्डोनेसियाले तीव्र बन्दै गएको एल निनोको सामना गरिरहेको छ । एल निनो सामान्यतः दक्षिणपूर्वी एसियाका धेरै क्षेत्रमा बढी गर्मी र सुख्खा अवस्था निम्त्याउने जलवायु प्रणाली हो । यसले खडेरी, डढेलो तथा बालीनालीमा क्षतिको जोखिम बढाउँछ ।

जुलाईसम्म देशका आधाभन्दा बढी मौसमी क्षेत्र अपेक्षाभन्दा लामो सुख्खा मौसमको चपेटामा परिसकेका थिए । यो सुख्खा मौसम अगस्टमा उत्कर्षमा पुग्ने अनुमान गरिएको छ ।

इन्डोनेसियाको मौसम विभागले एल निनोको प्रभाव सन् २०२७ को सुरुआतसम्म कायम रहने चेतावनी दिएको छ । गत महिनासम्म देशभर ५ हजारभन्दा बढी सम्भावित डढेलोका क्षेत्र पहिचान भएका थिए, जुन विगतका एल निनो वर्षहरूको तुलनामा उल्लेखनीय वृद्धि हो ।

इन्डोनेसियाको अधिकांश नुन उत्पादन कम प्रविधिमा आधारित छ । सुख्खा मौसममा समुद्री पानीलाई समुद्र किनारका स–साना लाम्चा पोखरीमा जम्मा गरी वाष्पीकरण गराएर नुन उत्पादन गरिन्छ ।

जाभा द्वीपको उत्तरी तटमा रहेको पश्चिम जाभाको चिरेबोनजस्ता क्षेत्रमा किसानहरू घण्टौँसम्म पोखरीको पिँधमा जमेको नुन खोतलेर निकाल्छन् र त्यसलाई सङ्कलनका लागि थुपार्छन् ।

थोरै समय मात्र पानी परे पनि यो प्रक्रिया अवरुद्ध हुन्छ, जसका कारण नुनको उत्पादन र गुणस्तर दुवै घट्न सक्छ । ‘हाम्रा लागि एल निनो वरदान र कृपा हो । यसका लागि हामी आभारी हुनुपर्छ,’ चिरेबोनको एक नुन खेतमा काम गर्दै गरेका स्थानीय नुन किसान समूहका प्रमुख ४५ वर्षीय दादाङ दार्मावानले भन्छन् । उक्त क्षेत्रमा एक महिनाभन्दा बढी अवधिमा केवल एकपटक हल्का पानी परेको थियो ।

दार्मावानका अनुसार उत्पादनमा उल्लेख्य वृद्धि भएकाले नुन किसानहरू हरेक वर्ष एल निनो फर्कियोस् भन्ने चाहन्छन् ।

चिरेबोनमा जुलाईमा नुन उत्पादन झन्डै ६०० मेट्रिक टन पुगेको थियो । गत वर्षको सोही महिनामा उत्पादन केवल २५ देखि ३० मेट्रिक टन थियो । चिरेबोन रिजेन्सीको खाद्य सुरक्षा तथा मत्स्य विभागका अधिकारी सुडिहार्जोले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार सुख्खा अवस्था अक्टोबरसम्म कायम रहने अपेक्षा गरिएकाले यस क्षेत्रमा यस वर्ष नुनको उल्लेखनीय रुपमा उत्पादन हुने सम्भावना छ । चिरेबोनका करिब १,४०० हेक्टर (३,४६० एकड) क्षेत्रफलमा फैलिएका विशाल नुन खेत इन्डोनेसियाका १० प्रमुख नुन उत्पादन क्षेत्रमध्ये एक हो । १७ हजारभन्दा बढी द्वीप भएको इन्डोनेसियासँग लामो समुद्री तट पनि छ ।

इन्डोनेसियाको समुद्री मामिला तथा मत्स्य मन्त्रालयको तथ्यांकअनुसार सामान्यभन्दा छोटो सुख्खा मौसमपछि बढी वर्षा हुने ला निना जलवायु प्रणाली आएपछि गत वर्ष देशको नुन उत्पादन घटेर १० लाख टनमा सीमित भएको थियो । यसअघि सन् २०२३ को पछिल्लो एल निनो अवधिमा उत्पादन २५ लाख टन पुगेको थियो ।

‘सुख्खा मौसम लामो भएकाले उत्पादन निश्चित रूपमा बढ्नेछ,’ राष्ट्रिय नुन प्रयोगकर्ता उद्योग संघका प्रमुख चुचु सुताराले देशव्यापी नुन उत्पादनबारे भने । यद्यपि उनले उत्पादन कति बढ्न सक्छ भन्ने यकिन प्रक्षेपण भने गरेनन् ।

नुन किसानहरूले पाएको यो अप्रत्याशित लाभ देशका परम्परागत कृषि किसानहरूले अपनाइरहेका सुरक्षात्मक उपायको ठिक विपरीत छ । इन्डोनेसियाको मौसम विभागले बाली किसानहरूलाई आफ्नो खेती गर्ने समयतालिका र कृषि गतिविधिमा आवश्यक परिवर्तन गर्न चेतावनी दिएको छ ।

३९ वर्षीय नुन किसान दार्मिन्तोलाई एल निनोका कारण बाली किसानहरू गम्भीर रूपमा प्रभावित भइरहेको थाहा छ । तर उनी अहिले नुन उत्पादन बढेको अवस्थाबाट लाभ उठाउनेमा केन्द्रित छन् ।

‘मेरो आशा यो गर्मीको मौसम अझ लामो समयसम्म रहोस्, ताकि म पैसा कमाउन र पर्याप्त नुन भण्डारण गर्न सकूँ,’ उनी भन्छिन् ।

कमेन्टहरु