समाचार

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जंगली हात्ती

रासस
२०८३ साउन २० | बिहान ०८:०४ बजे

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जंगली हात्ती देखिन थालेको छ । झन्डै दुई सातादेखि अन्दाजी १८–१९ वर्षको जंगली हात्ती देखिन सुरु गरेको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रवीन पौडेलका अनुसार हात्ती सौराहाको मध्यवर्ती वन क्षेत्रमा रहने गरेको छ ।

केही दिनअघि हात्ती प्रजनन केन्द्र पुगेको यस हात्तीलाई त्यहाँ आउने अन्य जंगली हात्तीबाट लखेटिएको जनाइएको छ । अहिले सौराहास्थित निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती भएका ठाउँमा आउने गरेको उनले बताए । यस हात्तीले अहिलेसम्म मानव बस्तीमा पसेर दुःख दिएको छैन ।

संरक्षण अधिकृत पौडेलका अनुसार यस्ता हात्ती बथानबाट लखेटिएर एक्लिने गर्छन् । बथानको नेतृत्व पोथी हात्तीले सम्हाल्ने गर्छ । अल्लारे उमेरका यस्ता भाले हात्तीले उपद्रो मच्चाएमा बथानका कमान्डरले लखेट्ने गरेको अध्ययनहरूले देखाएको उनले जानकारी दिए ।

अहिले धेरै समय यसले सौराहाका मध्यवर्ती क्षेत्रमा विचरण गरेर बिताउने गरेको छ । कहिलेकाहीँ पोथी हात्तीहरूको खोजीमा सौराहाको हात्तीसारमा पुग्ने गरेको छ ।

अहिले निकुञ्जमा ध्रुर्वे, गोविन्दे, रोनाल्डोजस्ता जंगली हात्ती एक्लिएर बसेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा पहिले–पहिले रोमियो, नानापाटेकर, मकुनाजस्ता हात्तीहरू रहेका थिए । तीमध्ये मकुनाले आक्रमण गर्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाउँदा मकुना मरेको थियो ।

कमेन्टहरु