कोशी प्रदेश

देवानगञ्ज घटना: मृतक परिवार र गृह मन्त्रालयबीच ६ बुँदे सहमति

नवलपुर टुडे
२०८३ साउन १५ | बिहान ०७:०४ बजे

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका- ३, कमानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच ६ बुँदे सहमति भएको छ।

बिहीबार राति भएको सहमतिअनुसार गृह मन्त्रालयले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सहमतिपत्रमा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया तत्काल अगाडि बढाइने उल्लेख छ। साथै देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन सुरु गरिने जनाइएको छ।

यस्तै, प्रत्येक मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ। सहमतिमा मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने विषय पनि समावेश गरिएको छ।

सहमतिपत्रमा मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक तथा गृहमन्त्री सुदन गुरुङले हस्ताक्षर गरेका छन्।

5ace3d78744e4707d97af27b0ce4fbe4

कमेन्टहरु