समाज

श्रीपुरमा खोरेत रोग नियन्त्रण कार्यदल गठन, क्वारेन्टाइन नियम पालना गर्न सबैसँग आग्रह

देवराजा यादव
२०८३ असार २२ | मध्यान्ह ०१:०३ बजे

सुनसरी। पशुमा फैलिने संक्रामक खोरेत रोगको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले पशु क्वारेन्टाईन चेकपोष्ट भण्टावारी, सुनसरीको आयोजनामा कोशी गाउँपालिका–५ श्रीपुरस्थित बिओपी परिसरमा खोरेत रोग नियन्त्रण कार्यदल गठन गरिएको छ।
आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत आयोजित कार्यक्रममा पशु क्वारेन्टाईन कार्यालय विराटनगरका वरिष्ठ पशु‌ चिकित्सक डा. विदुर गौतम, पशु क्वारेन्टाईन चेकपोष्ट भण्टावारीका निमित्त प्रमुख देवकुमार गाईम, पशु स्वास्थ्य प्राविधिक, सशस्त्र प्रहरी बलका प्रतिनिधि, स्थानीयवासी, पत्रकार तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा खोरेत रोगको रोकथाम, निगरानी तथा नियन्त्रणलाई प्रभावकारी बनाउन स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित पक्षबीच समन्वय सुदृढ गर्ने उद्देश्यले कार्यदल गठन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ पशु चिकित्सक डा. विदुर गौतमले पशु स्वास्थ्य सुरक्षाका लागि क्वारेन्टाईन नियमको पूर्ण पालना अपरिहार्य रहेको बताउनुभयो। उहाँले “क्वारेन्टाईन नियमको अवलम्बन गर्नु, गराउनु सचेत नागरिकको कर्तव्य हो” भन्ने सन्देशलाई व्यवहारमा उतार्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।

निमित्त प्रमुख देवकुमार गाईमले सीमावर्ती क्षेत्रबाट हुने पशु तथा पशुजन्य वस्तुको आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन कार्यदलले सम्बन्धित निकायसँग समन्वय गर्दै नियमित अनुगमन, जनचेतनामूलक कार्यक्रम तथा आवश्यक नियन्त्रणका गतिविधि सञ्चालन गर्ने जानकारी दिनुभयो।

कार्यक्रममा सहभागी सशस्त्र प्रहरी, स्थानीयवासी, पत्रकार तथा सरोकारवालाहरूले खोरेत रोग नियन्त्रणमा सबै पक्षबीच समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेको धारणा राखेका थिए।

पशु क्वारेन्टाईन चेकपोष्ट भण्टावारीले सबै पशुपालक, व्यवसायी तथा सर्वसाधारणलाई क्वारेन्टाईन नियमको पालना गर्न तथा कुनै शंकास्पद अवस्था देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन अनुरोध गरेको छ।

कमेन्टहरु