सुस्ता गाउँपालिकाद्वारा ‘उज्यालो सुस्ता’ देखि ‘बिदेश हैन बिजनेस’सम्म


नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकासलाई मुख्य प्राथमिकतामा राखेर कुल ६० करोड ३२ लाख ७८ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालका अनुसार गाउँपालिकाको १९ औं गाउँ सभा मार्फत आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको हो । प्रस्तुत कुल बजेटमध्ये गाउँपालिकाले चालू खर्चतर्फ ३७ करोड ३१ लाख ७८ हजार रुपैयाँ विनियोजन गरेको छ भने विकास निर्माण र पूर्वाधारतर्फ अर्थात् पुँजीगत खर्चका लागि २३ करोड ९९ हजार रुपैयाँ अनुमान गरेको छ ।
गाउँपालिकाको बजेटको मुख्य स्रोतमा संघीय सरकारतर्फ , वित्तीय समानिकरण अनुदानमा १२ करोड ६ लाख, शसर्त अनुदानमा ५ करोड ६१ लाख, विशेष अनुदानमा १ करोड ५ लाख र समपुरक अनुदानमा १ करोड ५ लाख रुपैयाँ रहेको छ । यस्तै, राजस्व बाँडफाँडबाट ११ करोड ५९ लाख ५१ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ ।
प्रदेश सरकारतर्फ, समानिकरण अनुदानमा ८१ लाख ७४ हजार, शसर्त अनुदानमा ८० लाख, विशेष अनुदानमा २० लाख र समपुरक अनुदानमा ७५ लाख रुपैयाँ प्राप्त हुनेछ । राजस्व बाँडफाँडतर्फ १ करोड ३ लाख ५१ हजार रुपैयाँ अनुमान गरिएको छ । र आन्तरिक स्रोत तर्फ गाउँपालिकाले आगामी वर्ष आन्तरिक स्रोतबाट १ करोड ५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।
नीति तथा कार्यक्रमका मुख्य आकर्षणहरू
‘सुस्तालाई चिनौ र चिनाउ’ र शैक्षिक सुधार
शिक्षा क्षेत्रलाई थप गुणस्तरीय बनाउन गाउँपालिकाले “सुस्तालाई चिनौ र चिनाउ” अभियान अन्तर्गत कक्षा ५, ८ र १० को परीक्षालाई थप व्यवस्थित बनाउने नीति लिएको छ । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र सोही आधारमा उत्कृष्ट कार्य गर्ने शिक्षकलाई पुरस्कृत गरिनेछ । यस्तै, ‘विद्यालयमा बढाऔ, विद्यालयमै पढाऔं’ कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने भएको छ ।
‘बिदेश हैन बिजनेस’ र युवा स्वरोजगार
“खेलसँगै जीवन हिँडाउँछु, पालिकालाई देशभर चिनाउँछु” भन्ने नाराका साथ खेलाडीहरूलाई प्रोत्साहन गर्ने नीति पालिकाले लिएको छ । युवाहरूलाई स्वदेशमै रोक्नका लागि ‘बिदेश हैन बिजनेस’ भन्ने भावना अनुरूप वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई लक्षित गरी सीपमूलक तथा रोजगार कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
स्वास्थ्य क्षेत्र: १० शैयाको अस्पताल र सामाजिक सुरक्षा
स्वास्थ्यतर्फ सुस्ता वडा नं. २ मा निर्माणको अन्तिम चरणमा पुगेको १० शैयाको अस्पतालको बाँकी कामलाई निरन्तरता दिइने भएको छ । “छोरी सुनौलो भविष्य” कार्यक्रमलाई निरन्तरता दिँदै पालिकालाई पोषणमैत्री बनाउने, कुष्ठरोग तथा क्षयरोगका बिरामीका लागि स्वास्थ्य शिविर तथा खोजपडताल कार्यक्रम सञ्चालन गर्ने र ज्येष्ठ नागरिक स्वास्थ्य शिविरलाई प्राथमिकतामा राखिएको छ । सामाजिक सुरक्षातर्फ ‘उपाध्यक्षसँग सुत्केरी भेटघाट’ र ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
कृषि: दुधमा आत्मनिर्भर र किसानलाई अनुदान
“दुधमा आत्मनिर्भर, निर्यातमा प्रबद्र्धन” भन्ने नारासहित सुस्ताले पशु सुत्केरी कार्यक्रमलाई निरन्तरता दिने भएको छ । त्यसैगरी “कृषि उत्पादनमा वृद्धि, सुस्ताको समृद्धि” नाराका साथ किसानहरूलाई उन्नत बीउबिजन, कृषि अनुदान र किसानको प्राविधिक ज्ञान विकासमा जोड दिइने नीति लिइएको छ ।
पर्यटन, खानेपानी र ‘उज्यालो सुस्ता’ अभियान
पर्यटन क्षेत्रतर्फ सुस्तामा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरूको संरक्षण र प्रबद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । पूर्वाधार तथा खानेपानीतर्फ ‘एक घर एक धारा’ अभियान मार्फत सम्पूर्ण सुस्ताबासीलाई स्वच्छ र शुद्ध खानेपानीको व्यवस्था मिलाइने प्रतिबद्धता जनाइएको छ । साथै, “हाम्रो सुस्ता, उज्यालो सुस्ता” अभियान अन्तर्गत वडा नम्बर १ देखि ५ सम्मका संवेदनशील तथा सार्वजनिक स्थलहरूमा सडक बत्ती (स्ट्रीट लाइट) जडान गर्ने कार्यलाई नीति तथा कार्यक्रममा विशेष जोड दिइएको छ ।























