कुलो पुनर्निर्माण नहुँदा फाँट चार वर्षदेखि बाँझियो

रासस
२०८३ असार ३ | मध्यान्ह १२:०३ बजे

पाँचथर । बाढीले बगाएको कुलो पुनर्निर्माण नहुँदा यहाँको माझीटारको फाँट चार वर्षदेखि बाँझिएको छ । खाद्यान्न र नगदेबाली उत्पादन गर्न नपाएपछि यहाँका बासिन्दाको जीविकोपार्जन कठिन बन्दै गएको छ ।
फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमास्थित तमोर नदी र हेंवाखोलाको किनारामा अवस्थित माझीटारको समथर खेतीयोग्य जमिनमा अहिले मकैबाहेक खेती हुन छाडेको छ । विसं २०८० असार ३ गते आएको बाढीले माझीटारमा हेंवाखोलाबाट ल्याइएका दुईवटा सिँचाइ कुलो क्षतिग्रस्त बनाएको थियो । कुलाको मुहान भएको स्थानमा बाढीका कारण खोला गहिरिएपछि फिदिम र हिलिहाङ दुवैतर्फ सञ्चालित कुलो पूर्ण रूपमा बन्द भएका छन् । जसकारण चार वर्षदेखि धान, सागसब्जी, नगदेबाली र फलफूलखेती हुन नसकेको फिदिम–४ की मीना माझीको भनाइ छ ।



















