बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह


बाँके । पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरेका छन् । निकुञ्जमा आउने पर्यटकको बसाइ बढाउने उद्देश्यले आग्रह गरिएको होटल तथा रिर्सोटको सञ्चालकहरूले बताएका छन्। नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) बाँके च्याप्टरको समन्वयमा भारतीय पर्यटकसहितको प्रतिष्ठित उद्योगीलगायतको नेपाली टोलीले निकुञ्जको अवलोकन भ्रमणपछि पर्यटन प्रवर्द्धनका सम्भावित लगानीका विषयमा छलफल गरिएको छ ।
नेपालगन्जका उद्योगी सञ्जय अग्रवालले बाँके राष्ट्रिय निकुञ्ज प्रचारप्रसार नभएका कारणले ओझेलमा परेको उल्लेख गर्दै आर्कषक होटल तथा रिर्सोटले यहाँको सौन्दर्य बढाउने बताए।
उनले भने, “पर्यटक यहाँ आएर भरपूर आनन्द लिन्छन् तर उनीहरूलाई खाना तथा बस्नका लागि पनि राम्रो प्रबन्ध हुन जरुरी छ ।”उद्योगी अग्रवालले यहाँको मनमोहक हरियाली सुन्दर भएको औँल्याउँदै निकुञ्ज घुम्दै जाँदा देखिने चित्तल (चौका), हात्ती, मयुरलगायतका वन्यजन्तुले घुमफिरलाई रोमाञ्चक बनाउने उल्लेख गरे।
“सुन्दर जङ्गल, छ त्यहाँभित्र डाँडा देखिएको छ, नदी बगिरहेको छ, वन्यजन्तु दौडिरहेका छन् यस्तो सुन्दरता कहाँ पाउन सकिन्छ”, उनले भने।अर्का उद्योगी चम्पालाल बोथ्राले निकुञ्जको प्रचारप्रसार हुन नसकेको उल्लेख गर्दै यसको प्रचारबाट पर्यटक भित्र्याउन सकिने बताए।“प्रकृतिले सुन्दरतासँगै मनमोहक दृश्य पनि दिएको छ, यो अवलोकन गर्न यहाँ पर्यटक भित्र्याउनुपर्छ”, उनले सुझाव दिए।
होटल पौवा प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले पर्यापर्यटनको प्रचुर सम्भावना रहेको यस क्षेत्रमा होटल तथा पर्यटनमा दीर्घकालीन लगानी आवश्यक भएको धारणा व्यक्त गरे।राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले पर्यटन र उद्योगका लागि पालिकामा लगानी भित्र्याउँदै सहजीकरण गर्न आफूहरू तयार भएको बताए।
निकुञ्जकी नेचर गाइड उमा ओलीले चुरे भावर क्षेत्रसँगै यहाँ चौका, बाघलगायत वन्यजन्तुको अवलोकन गर्न बाँके राष्ट्रिय निकुञ्ज भ्रमण गर्न सुझाव दिँदै निकुञ्जसँगै राजमार्ग र विमानस्थलको पहुँच रहेको बताए। “काठमाडौँबाट यहाँ आएर बाँके राष्ट्रिय निकुञ्जमा दिनभर सफारी गरेर बेलुका फर्किन सकिन्छ”, उनले भने।
नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले निकुञ्ज करिब २० किलोमिटर नेपाल–भारत सीमा नजिक रहेकाले भारतीय पर्यटकलाई भित्र्याउने वातावरण निर्माण भए त्यसले अर्थतन्त्रमा योगदान पुर्याउने बताए ।
उनले निकुञ्ज आसपासमा ग्रामीण पर्यटनलाई महत्व दिएर लोक संस्कृतिको जर्गेना गर्न सकिने उल्लेख गरे। निकुञ्जमा निर्माण भएका घरबासमा अहिले पनि थारू समुदायका परिकारका रूपमा रहेको अनदी चामलको ढिक्री, आलुको अचार डोक्नीको चटनीलगायतका परिकार खान पाइन्छ।























