टीकापुरमा भूमिपूजाको रौनक


टीकापुर । मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत भएको छ । पर्व मनाउन दाङदेखि कैलालीसम्मका ती जातिका अगुवा टीकापुर आइपुगेका छन् ।
नेपाल मगरसङ्घ टीकापुरको आयोजित कार्यक्रमका सहभागीले भूमिपर्वको महत्वका बारेमा चर्चा गरेका छन् । ती समुदायले भूमि, प्रकृति र कृषि उत्पादन वृद्धि होस् भनी मनाउने गर्दछन् । मगर समुदायका अगुवा धर्मराज घर्ती मगरले बताए । “‘भूमे पर्वमा हामीले राम्रो बाली उत्पादन होस् भनी पूजा गर्ने गर्दछौँ । आज बिहानै एकै ठाउँमा सबै जम्मा भएर पूजा गरिएको छ”, उनले भने, “प्राकृतिक विपत्तिबाट सुरक्षा, मानिसको सुख र समृद्धिको कामना गरिन्छ ।”
दाङका आशबहादुर जिगमले मगर समुदायमा प्रचलित पर्व मनाउन आफू दाङदेखि टीकापुर आएको बताए । “दैविक क्षति नहोस्, विपत्तिबाट बच्न सहयोग होस् भनी भूमि पूजा गर्ने, नाचगान गर्दै रमाइलो गर्ने गरिएको छ”, उनले भने, “सामूहिक नाचगान, सांस्कृतिक कार्यक्रम भइरहेका छन् । भूमि प्रतिको सम्मानको महत्व बढाउन यो कार्यले सघाउँछ ।”
सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले पर्वले प्रकृतिप्रतिको सम्मान, सामुदायिक एकता र सांस्कृतिक पहिचान संरक्षणमा योगदान दिने बताए । “स्थानीय परिकार तथा खानाको समेत सामूहिक रुपमा खानपान गर्ने अभ्यास राम्रो लाग्यो”, उनले भने, “जमिन नभए हामी भोकै हुन्छौँ, हाम्रो पेट भर्ने भूमिको पूजा गर्ने चलन राम्रो हो ।”
टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन लुहार विक, मगर समुदायका अगुवा रमेश थापा मगर, सङ्घका सुदूरपश्चिम अध्यक्ष दलबहादुर घर्ती मगर, मगर सङ्घका जिल्ला अध्यक्ष वीरेन्द्र थापा मगर, कमल पुन मगरलगायतले भूमि पूजाको महत्वबारे बोल्नुभएको थियो ।





















