विद्यालयमा ‘महिनावारी आराम कक्ष’ स्थापना


मान्म (कालीकोट),जेठ ३१। कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी आराम कक्ष’ स्थापना गरिएको छ । नगरपालिकाका चार माध्यमिक विद्यालय र ६ वटा आधारभूत विद्यालयमा महिनावारी आराम कक्ष स्थापना गरिएको हो ।
विद्यालयको महिनावारी आराम कक्षमा आवश्यक स्यानेटरी प्याड, सफा पानी, प्राथामिक उपचार साम्रगी, आराम गर्ने बेड तथा सरसफाइका साम्रगी व्यवस्था हुँदा स्वास्थ्यमा सहज र नियमित स्कुलमा छात्राको उपस्थित हुने गरेको बडिमालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज बरालले जानकारी दिनुभयो ।
“किशोरी विद्यार्थीलाई महिनावारी भएको समयमा सहज वातावरण प्रदान गर्न विद्यालयमै महिनावारी आराम कक्ष स्थापना गरिएको हो”, उहाँले भन्नुभयो, “महिनावारीका बेला हुने शारीरिक असहजता, पेट दुख्ने, कमजोरी तथा मानसिक तनावलाई मध्यनजर गर्दै विद्यालयमा आराम कक्ष सञ्चालनमा ल्याउँदा अहिले किशोरीहरू नियमित पढ्न आउन थालेका छन् ।”
नगरकापालिकाका चारवटा माध्यमिक र छवटा आधारभूत विद्यालयमा महिनावारी आरम कक्ष स्थापना गरिएको रास्कोट महिनावारी स्वास्थ्य र खानेपानी तथा सरसफाइ स्वच्छ्रता सुधार परियोजनाका संयोजक सूर्यबहादुर रोकायाले बताउनुभयो । उहाँले यसबाट किशोरीहरूलाई विद्यालयमा नियमित पढाइमा सहभागी हुन सहयोग पुगेको जानकारी दिनुभयो ।
विद्यालयमा सुरक्षित र मैत्रीपूर्ण वातावरण निर्माण गर्न यस्तो पहल प्रभावकारी बनेको रास्कोट नगरपालिका नगरप्रमुख धर्मराज शाहीले बताउनुभयो । “स्थानीय तह तथा विद्यालय व्यवस्थापन समितिले किशोरी स्वास्थ्य र महिनावारी स्वच्छतामा विशेष ध्यान दिएको छ, रास्कोटको शैक्षिक सुधारमा पहिलो प्रथामिकता राखेर आगाडि बढेको छ”, उहाँले भन्नुभयो ।
























