मौसम

काठमाडौंमा बिहानैदेखि वर्षा,आज देशका धेरै स्थानमा पानी पर्ने

नवलपुर टुडे
२०८३ जेष्ठ २९ | बिहान ०६:०२ बजे

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । काठमाडौंलगायत केही भूभागमा बिहानैबाट वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी र मधेस प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । विभागले राति कोसी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । मधेस प्रदेशलगायत तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा/हिमपातको पूर्वानुमान छ । मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका तराई भूभाग साथै देशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना  छ । जलवायुविज्ञ धर्मराज उप्रेती आज देशका धेरै स्थानमा वर्षा हुने बताउँछन् । केही स्थानमा भने घाम पनि लाग्ने उनको भनाइ छ ।

“आज पश्चिमी वायु पूर्वतिर सर्दै छ । मनसुनी वायु नेपाल प्रवेश  गर्दै  गरेकाले देशको पश्चिमदेखि मध्य र पूर्वी  भागमा वर्षा, हावाहुरीसमेतको सम्भावना छ,” उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “तराईमा गर्मी केही कम हुनेछ । तर, केही क्षेत्रमा हावाहुरी समेतको सम्भावना छ । ” हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायुको प्रभाव रहेको छ ।

कमेन्टहरु