राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै


काठमाडौँ । सङ्घीय संसद्को राष्ट्रिय सभा अन्तर्गतका दुईवटा महत्त्वपूर्ण समितिका बैठकहरू सोमबार एकै समयमा बस्दै छन्। सोमबार बिहान ११:०० बजे राष्ट्रिय सभाका दुई फरक समितिले विकास निर्माण र प्रादेशिक अनुगमनका विषयमा छलफल गर्न बैठक आह्वान गरेका हुन्।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३३३औँ बैठकमा नागढुङ्गा-सिस्नेखोला सुरूङ्गमार्गको प्रगति र अवस्थाका बारेमा सरोकारवाला निकायसँग छलफल हुनेछ। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा बस्ने उक्त बैठकमा नागढुङ्गा सुरुङ्गमार्ग सम्बन्धमा विभाग र आयोजनासँग विस्तृत समीक्षा गर्ने कार्यसूची रहेको छ।
बैठकमा विविध विषयसहित मुख्य छलफलका लागि सडक विभागका महानिर्देशक र नागढुङ्गा सुरुङ्गमार्ग निर्माण आयोजना कार्यालयका आयोजना प्रमुखलाई आमन्त्रण गरिएको जानकारी शाखा अधिकृत गुणमाया सुनुवारले दिएकी छन्।
यसैगरी, सोमबार बिहान ११:०० बजे नै राष्ट्रिय सभाकै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्ने तय भएको छ। समितिको आफ्नै बैठक कक्षमा बस्ने यस बैठकमा कर्णाली प्रदेशमा गरिएको स्थलगत अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।
समितिले कर्णाली प्रदेशको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन र विविध विषयमा छलफल गर्न समितिका सम्पूर्ण सदस्यहरू तथा सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ।
























