गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते

एजेन्सी
२०८३ जेष्ठ २१ | मध्यान्ह ०४:०२ बजे

गाजापट्टी । इजरायली सेनाले गाजा क्षेत्रमा आक्रमण तीव्र बनाएपछि पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको दैनिक प्रतिवेदनअनुसार उद्धारकर्मी तथा नागरिक सुरक्षा टोलीहरू अझै पनि भग्नावशेषमुनि फसेका वा सडक किनारमा घाइते अवस्थामा रहेका धेरै पीडितसम्म पुग्न नसकेको जनाएको छ ।
सन् २०२५ को अक्टोबरमा युद्धविराम लागू भएयता इजरायली आक्रमणमा कम्तीमा ९४७ जनाको मृत्यु भएको छ भने २ हजार ९३५ जना घाइते भएका छन् । त्यसैगरी, गाजाका विभिन्न क्षेत्रमा बमबारीपछि बनेका विशाल भग्नावशेषबाट हालसम्म ७८१ शव निकालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



















