कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित


काठमाडौँ । डेमोक्र्याटिक रिपब्लिक अफ कंगो (डीआरसी) को पूर्वी क्षेत्रमा इबोला महामारीको प्रमुख केन्द्रमध्ये एक रहेको सहर वरपर विद्रोहीहरूले गरेको आक्रमणमा पछिल्ला केही दिनमा ३० जनाभन्दा बढीको ज्यान गएको छ । यसले इबोला नियन्त्रणका प्रयासहरूलाई थप जटिल बनाएको छ ।
बुधबार बिहान सबेरै बेनी सहर आसपासका तीन गाउँमा भएको आक्रमणमा कम्तीमा १० जनाको हत्या गरिएको छ ।एलाइड डेमोक्र्याटिक फोर्सेस (एडीएफ) नामक, इस्लामिक स्टेटसँग आबद्ध मिलिसिया समूहलाई पूर्वी डीआरसीका मातेते, मामुली र कितोहो गाउँमा भएका आक्रमणको दोष दिइएको छ ।
क्षेत्रका सामुदायिक नेता आइज्याक काभालामीले भने, ‘हामीले प्रारम्भिक रूपमा करिब १० जनाको मृत्यु भएको अभिलेख गरेका छौँ । एडीएफ विद्रोहीहरूले मोटरसाइकल र घरहरूमा आगजनी गरेका छन् । उनीहरूले केही सर्वसाधारणलाई अपहरण पनि गरेका छन्, तर अपहरण गरिएकाहरूको सङ्ख्या अझै थाहा भएको छैन ।’
बुधबारसम्म इबोला प्रकोपका कारण उत्तरी किभु, दक्षिणी किभु र इटुरी प्रान्तमा ३४४ संक्रमित र ६० जनाको मृत्यु दर्ता गरिएको छ ।शनिबार मध्यरातअघि एडीएफ लडाकुहरू बेनी सहरमा प्रवेश गरेका थिए । यो सहर सन् २०२१ देखि डीआरसी सेनाको प्रशासनिक नियन्त्रणमा रहेको छ ।
आक्रमणका क्रममा केही मानिसको टाउको काटिएको थियो भने अन्यलाई गोली हानिएको थियो । घटनाले व्यापक त्रास फैलायो र सयौँ मानिसहरू घर छोडेर जंगलतर्फ भाग्न बाध्य भए । प्रत्यक्षदर्शीहरूका अनुसार २० भन्दा बढी पुरुष, महिला र बालबालिकाको हत्या गरिएको थियो भने दर्जनौँ अझै बेपत्ता छन् ।
बेनीको न्गान्दी क्षेत्रमा बसोबास गर्ने मुम्बेरे सिभियाले भने, ‘हामी सुत्ने तयारी गरिरहेका बेला सहयोगका लागि चिच्याइरहेको आवाज सुन्यौँ । त्यो एडीएफले गरेको आक्रमण थियो । हामी ज्यान बचाउन आत्तिँदै घर छोडेर भाग्यौँ । दुर्भाग्यवश, बिहान हाम्रो छिमेकीहरूको टाउको काटिएको थाहा पायौँ ।’
एडीएफले पछिल्ला वर्षहरूमा बेनी क्षेत्रमा सर्वसाधारण र कंगोली सेनामाथिका आक्रमण तीव्र बनाएको छ । नागरिक समाज संगठनहरूका अनुसार सन् २०१४ यता यस सशस्त्र समूहले करिब १० हजार सर्वसाधारणको हत्या गरेको छ ।
विद्रोही र डाँकुहरूको सञ्जाल मानिने एडीएफमाथि छिमेकी युगान्डामा पनि वितन्डा मच्चाएको आरोप छ ।
उत्तर किभुका सैनिक गभर्नरले मंगलबार जारी गरेको वक्तव्यमा शनिबारको आक्रमणपछि इबोला पुष्टि भएका तीन बिरामी बेनीका उपचार केन्द्रबाट भागेको बताएका छन् ।
यी आक्रमण र समुदायमा फैलिएको डरले सन् १९७६ मा भाइरस पहिचान भएयता डीआरसीमा देखिएको १७औँ इबोला महामारी नियन्त्रणका प्रयासहरूलाई जटिल बनाएको छ ।
बेनीका नागरिक समाज अभियन्ता अल्बर्ट लुसेङ्गेले भने, ‘इबोलाले मानिसको टाउको काटेर मार्दैन । हामी आफ्ना प्रियजनहरू एडीएफका अत्याचारका कारण गुमाइरहेका छौँ । यो अत्यन्त पीडादायी अवस्था हो ।’
लुसेङ्गेका अनुसार एडीएफसँग सम्बन्धित आक्रमणमा उनका परिवारका २० सदस्यको मृत्यु भइसकेको छ । उनका विचारमा एडीएफका गतिविधिबाट पहिले नै पीडित जनतालाई इबोला विरुद्धको अभियानमा सहभागी गराउन निकै कठिन हुनेछ ।
अन्य सामुदायिक नेताहरूले हिंसाबाट भागिरहेका मानिसहरूले संक्रमण फैलिने जोखिम बढाएको बताएका छन् ।
लुसेङ्गेले भने, ‘रोग एउटा समुदायबाट अर्को समुदायमा फैलिन सक्छ । न्गान्दीमा भएको आक्रमणपछि स्थानीय बासिन्दाहरू भागेको हामीले देख्यौँ । भागदौडको क्रममा नियन्त्रणका उपायहरू लागू गर्न कठिन हुन्छ। यदि उनीहरूमध्ये कसैले इबोला भाइरस बोकेको छ भने त्यो अत्यन्त गम्भीर विषय हो ।’
सन् २००५ देखि २०१४ सम्म कंगोली सेनाले सञ्चालन गरेका ठूला सैन्य अभियानहरूले एडीएफलाई समाप्त गर्न सकेनन् । सन् २०२१ मा पुनः सैन्य कारबाही सुरु गरिएको थियो र अहिले पनि कंगोली तथा युगाण्डाली सेनाले उत्तर किभु र इटुरी क्षेत्रमा एडीएफ लडाकुहरूको खोजी गरिरहेका छन् ।
डीआरसीस्थित थिंक ट्यांक तथा अनुसन्धानकर्ता रेगन मिभिरीका अनुसार यिनै सैन्य अभियानहरूको प्रतिक्रियास्वरूप सर्वसाधारणलाई निशाना बनाइएको हो ।
उनले भने, ‘सर्वसाधारणको हत्या सैन्य प्रतिरोधको माध्यम हो । जब पनि यी आतंककारीहरूलाई उनीहरूको क्षेत्रमा आक्रमण गरिन्छ, उनीहरूले सर्वसाधारणको नरसंहार गरेर प्रतिक्रिया दिन्छन्। सम्भवतः यो सैन्य अभियान रोक्न दबाब सिर्जना गर्ने उपाय हो ।’
मिभिरीका अनुसार एडीएफ साना–साना समूहमा सञ्चालन हुने भएकाले उनीहरूलाई पत्ता लगाउन कठिन हुन्छ । समूहले घना जंगल क्षेत्र प्रयोग गर्ने भएकाले सेनाको निगरानीबाट सजिलै बच्न सक्छ ।
उनले थपे, ‘कंगोली र युगाण्डाली सेनाका संयुक्त अभियानहरू मुख्यतः एडीएफलाई युगाण्डाको सीमाबाट टाढा धकेल्न केन्द्रित छन् । दुर्भाग्यवश, यी अभियान जारी रहँदासम्म सर्वसाधारण मारिइरहेका छन् ।’
किनशासास्थित सरकारले पनि हत्याकाण्डका लागि एडीएफ जिम्मेवार रहेको पुष्टि गर्दै घटनाको कडा निन्दा गरेको छ । सरकारको सञ्चार तथा मिडिया मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यो दुःखद घटनाका बीच सरकार पुनः स्पष्ट गर्न चाहन्छ कि एडीएफविरुद्धको लडाइँ हाम्रो पूर्ण प्राथमिकता हो ।’
मिभिरीले बेनी क्षेत्र र अन्य स्थानको असुरक्षाले इबोला नियन्त्रण टोलीप्रति अविश्वासका ‘प्राचिन भूतहरू’ पुनः जागृत गराउन सक्ने चेतावनी दिए । यस्तै अवस्था सन् २०१८ देखि २०२० सम्मको इबोला महामारीका क्रममा देखिएको थियो, जसमा करिब २,३०० जनाको ज्यान गएको थियो ।
उनले भने, ‘एडीएफ सक्रिय रहेका क्षेत्रमा हस्तक्षेप कार्यक्रम सञ्चालन गर्न कठिन हुनेछ, किनकि स्वास्थ्यकर्मीहरू यति अस्थिर वातावरणमा काम गर्न चाहँदैनन् । मानिसहरूले पनि नरसंहार रोक्न समान स्तरको प्रयास नहुँदा इबोलाविरुद्ध किन यति ठूलो अभियान चलाइएको हो भनेर प्रश्न गर्न सक्छन् ।’
गत साता विश्व स्वास्थ्य संघठनका महानिर्देशक टेड्रोस अद्हानोम गेब्रेसियले डीआरसी विशेषगरी इटुरी क्षेत्रमा रहेको असुरक्षाले इबोला नियन्त्रण प्रयासलाई गम्भीर रूपमा प्रभावित गरिरहेको बताएका थिए ।
उनले चेतावनी दिँदै भनेका थिए कि ‘बम खसिरहेका बेला’ बिरामीहरूलाई छुट्याएर अलग राख्ने र समुदायको विश्वास जित्ने काम सम्भव हुँदैन ।























