बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन


काठमाडौँ, जेठ २१। काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्र रहेका मसाज सेन्टर र स्पाको अनुगमन गरेको छ ।काठमाडौँ महानगरपालिका–२६ को मानव बेचबिखन तथा ओसारपसार समितिले अनाहत नेपाल, नेपाल प्रहरी, महानगर प्रहरीसहितको सहकार्यमा बुधबार ठमेल क्षेत्रमा हुने बाल यौन बेचबिखन र श्रम शोषणको अन्त्यका लागि अनुगमन गरेको हो । अनुगमनका क्रममा आचारसंहिता विपरीत मसाज तथा स्पा सेन्टर सञ्चालन, दर्ता नगरी स्पा तथा मसाज सेन्टर सञ्चालन गरेको पाइएको समितिका संयोजक शान्ता प्रजापतिले जानकारी दिनुभयो ।
“अठार वर्षभन्दा मुनिका बालबालिकालाई कुनै पनि प्रकारको जोखिमपूर्ण काम, श्रम वा यौन व्यवसायमा लगाउनु नेपालको कानुन अनुसार अक्षम्य र दण्डनीय अपराध हो, यदि कसैले यस्तो कार्य गरेको पाइएमा मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन र बालश्रम ९निषेध र नियमित गर्ने० ऐनबमोजिम कडा कानुनी कारबाही गरिनेछ,” उहाँले भन्नुभयो ।
काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्र सञ्चालित मसाज तथा स्पा सेन्टरमा नियमित चेकजाँच गर्ने जनाएको छ । काठमाडौँ महानगरपालिकाले व्यवसायमा कार्यरत कर्मचारीको उमेर खुल्ने आधिकारिक परिचयपत्र राख्नुपर्ने, प्रत्येक व्यावसायिक स्थलमा ‘बालश्रम र यौन शोषण निषेध’ सम्बन्धी जानकारीमूलक बोर्ड राख्नुपर्ने बताएको छ ।
संयोजक प्रजापतिले कतै बाल यौन बेचबिखन वा श्रम शोषण भइरहेको थाहा पाएमा तुरुन्त वडा कार्यालय वा नजिकैको प्रहरी चौकीमा खबर गर्न आग्रह गर्नुभयो । “हाम्रो वडालाई बालमैत्री र सुरक्षित बनाउनु हाम्रो प्रमुख दायित्व हो, बालबालिकाको भविष्यमाथि खेलबाड गर्ने जोकोहीलाई पनि छुट दिइने छैन,” उहाँले भन्नुभयो ।























