रुसी तेलमा दिइँदै आएको छुट हटाउने तयारीमा अमेरिका


वासिङ्टन डिसी । अमेरिकाले रुसबाट तेल खरिद गर्ने देशहरूलाई दिँदै आएको प्रतिबन्ध छुट छिट्टै समाप्त गर्ने सङ्केत दिएको छ । यस कदमले भारतसहित धेरै देशहरूको ऊर्जा आपूर्तिमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।
अमेरिकी विदेश मन्त्री मार्काे रुबियोले अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिमा बोल्दै रुसको तेल क्षेत्रमा प्रतिबन्ध लगाउने नीति अमेरिकाको मूल नीति रहेको बताएका छन् । उनका अनुसार अहिले दिइँदै आएको छुट अस्थायी हो र यसको उद्देश्य विश्व बजारमा तेल आपूर्ति स्थिर राख्नु मात्र हो ।
यसबारे अन्तिम निर्णय अमेरिकी वित्त मन्त्रालयले गर्ने रुबियोले स्पष्ट पारे । परिस्थिति सामान्य हुनेबित्तिकै यी छुटहरू हटाइयोस् भन्ने अमेरिकाले चाहेको पनि उनले बताए । रुस–युक्रेन युद्धपछि पश्चिमी देशहरूले रुसको ऊर्जा क्षेत्रमा कडा प्रतिबन्ध लगाएका थिए। तर विश्व बजारमा तेल आपूर्ति कायम राख्न केही देशहरूलाई अस्थायी छुट दिइएको थियो ।
यस छुटको लाभ लिने देशहरूमा भारत पनि पर्छ, जसले रुसबाट छुट मूल्यमा कच्चा तेल खरिद गर्दै आएको छ । यदि यो छुट हटाइयो भने भारतको ऊर्जा आयात लागत बढ्न सक्नेछ ।
पहिले दिइएको छुट कहिले समाप्त हुँदै छ ?
यसअघि मार्चमा लगाइएको प्रतिबन्धपछि केही देशलाई छुट दिइएको थियो, जसलाई पटक–पटक विस्तार गरिएको थियो । पछिल्लो पटक १७ मे मा एक महिनाका लागि थप गरिएको छुट १७ जुनमा समाप्त हुने बताइएको छ । रुबियोका अनुसार यी छुटहरू मुख्य रूपमा ऊर्जा बजारमा अचानक मूल्य वृद्धि र आपूर्ति संकट रोक्नका लागि दिइएका हुन् । तर अमेरिकी नीति दीर्घकालीन रूपमा रुसको तेल उद्योगमाथि दबाब कायम राख्ने दिशामा रहेको उनले बताए ।























