बसमा ड्रोन आक्रमण, ७ जनाको मृत्यु


मस्को । रुस–नियन्त्रित युक्रेनको डोनेट्स्क क्षेत्रमा यात्रुवाहक बसमा भएको ड्रोन आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । रुसद्वारा नियुक्त डोनेट्स्क क्षेत्रका प्रमुख डेनिस पुशिलिनका अनुसार उक्त बसमा बिहान सबेरै मस्कोदेखि क्रिमियाको सिम्फेरोपोल तर्फ जाँदै गर्दा आक्रमण भएको थियो ।
रूसी अधिकारीहरूका अनुसार रातभर भएको आक्रमणमा ३५० भन्दा बढी ड्रोन खसालिएको दाबी गरिएको छ । उत्तरी–पश्चिमी रुसको लेनिनग्राद क्षेत्रमा मात्रै करिब ५० ड्रोन खसालिएको क्षेत्रीय गभर्नर अलेक्जेन्डर द्रोज्देन्को ले बताएका छन् ।
सेन्ट पिटर्सबर्गमा बुधबारदेखि अन्तर्राष्ट्रिय आर्थिक मञ्च शुरु हुने तयारी भइरहेका बेला यो आक्रमण भएको हो । आयोजकहरूका अनुसार १३० भन्दा बढी देश र क्षेत्रका प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुनेछन् । सहभागीमध्ये चीनका उपराष्ट्रपति हान झेङ, साथै उज्बेकिस्तान र तान्जानियाका राष्ट्रपतिहरू पनि रहने बताइएको छ ।























