समाचार

‘बाजुरा र हुम्लाको सीमा छुट्याउने मुख्य आधार कवाडी नदी’

नवलपुर टुडे
२०८३ जेष्ठ १६ | मध्यान्ह ०७:०२ बजे

हुम्ला । बाजुरा र हुम्ला जिल्लाको सिमाना छुट्याउने मुख्य आधार भनेको कवाडी नदी भएको हुम्लावासीले दावी गरेका छन्। सीमासम्बन्धी कुरा स्थानीय युवालाई जानकारी गराउन शनिबार आयोजित छलफल कार्यक्रममा हुम्ला जिल्लाका बूढापाकाले उक्त दावी गरेका हुन्।

सर्केगार्ड गाउँपालिका– ३ को उनापानी गाउँका ६६ वर्षका कुम्भ कार्कीले कवाडीदेखि नुन्याखारासम्म बग्ने कवाडी नदी नै दुई जिल्ला छुट्याउने सिमाना भएको बताए।

अहिले जुन–जुन स्थानमा बाजुरावाट दावी गरिएको छ त्यो गलत भएको पहिलेबाटै कवाडी नदीलाई नै सिमाना मानेर भोग चलन गरिएको उनको भनाइ छ।

कवाडीदेखि मानी राखी खर्कसम्म पनि भूभाग छ त्यहाँ पहिलेबाट हुम्लावासीले दुई जिल्लाको भूभागमा भोगचलन गर्दै आएको उनले बताए।

अहिले चौकी निर्माण गर्ने क्रममा जे–जस्तो कुरा र दावी आए पनि त्यो सत्य नभएको र बाजुराका गुम्बा गाउँका स्थानीय र हुम्लाका भोग चलन गर्ने स्थानीय बसेर छलफल गरे सत्य कुरा बाहिर आउने उनले बताए।

त्यसैगरी सर्केगार्ड गाउँपालिका— २ का ७८ वर्षका पुस्या फडेराले नदी पारी बाजुरा र नदी वारी हुम्लाको भूभाग भएको कुरामा दुई जिल्लाका सो क्षेत्रका स्थानीयबीच सहमति पहिल्यैबाट भएको बताए।

नदीपारि हुम्लाले दावी गर्न नहुने र नदी वारी पर्ने सवै क्षेत्र कसैलाई छोड्न नहुने भनाइ उनको छ। हामी उपभोग गर्ने स्थानीयबीच सुरुबाटै भएको सहमतिअनुसार अगाडि बढे समस्या पनि नहुने र सवैको जित पनि त्यसैमा हुने उनको भनाइ छ।

यता खार्पुनाथ गाउँपालिका— २ को थाली गाउँका कणबहादुर रावलले सैपाल हिमाले हुम्ला र बझाङ जिल्लाको सिमाना छ्ट्याए जस्तै कवाडी खोलादेखि नुन्याखारासम्म वग्ने नदी हुम्ला र वाजुरालाई छ्ट्याएको बताए।

रानी खर्कको पर्यटकीय क्षेत्र र जडीबुटीको लोभमा अहिले बिबाद सिर्जना गरिएको बताउदै उनले पहिलेबाट भएको सहमति अनुसार अगाडी बढ्नुको बिकल्प नभएको बताए। सामाजिक सञ्जालमा हुने नहुने कुरा राखेर समाजलाई जिस्क्याउने कार्य नगर्न पनि उनले बाजुरावासीलाई आग्रह गरे।

हुम्ला जिल्लाका ताँजाकोट, सर्केगार्ड, खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका सिमाना जोडिएका स्थानीयको पशुपालन र आम्दानीको श्रोतका रुपमा रहेको सो क्षेत्रको जमिन आफ्नो नछोड्ने र अर्का नहड्प्ने नीति हुम्लाले लिनु पर्ने भनाई उनको छ। कवाडी नदीलाई सिमाना नमानिए जुन सुकै मूलय चुकाउन पछि नपर्ने उनको भनाइ छ।

यता उक्त गाउँपालिकाको वडा नम्बर ३ को राया गाउँका हिरु बुढाले हाल विवादमा आएको वन क्षेत्र हुम्लाको भएको प्रमाण आफूहरुलाई दिएको तात्रपत्र देखाउदै तत्थ्य र प्रमाणका आधार हुम्लावासी बोली रहेको बताए। अर्को कुरा लाम्पाता, च्याचौर क्षेत्रमा गठन गरिएका सामुदायीक वनको प्रमाण हेर्न पनि उनले वाजुरावासीले आग्रह गरे।

कमेन्टहरु