आज यी प्रदेशमा हुनेछ भारी वर्षा


काठमाडौं । केही प्रदेशमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा बाँकी तराई क्षेत्रका भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ/हावाहुरी/असिनासहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । साथै नेपालको दक्षिणतिर अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यूनचापीय रेखाको समेत प्रभाव रहेको छ । त्यसैले केही दिनदेखि मौसममा बदली र वर्षा भइरहेको छ ।






















