अब नागरिकताको प्रतिलिपि र राहदानी जुनसुकै जिल्लाबाट पाइने


काठमाडौँ । सरकारले सेवा प्रवाहलाई सहज बनाउन नागरिकताको प्रतिलिपि र राहदानी जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट लिन सकिने व्यवस्था लागू गर्ने भएको छ। शुक्रबार मन्त्रिपरिषद्ले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा यो व्यवस्था प्राथमिकताका साथ समावेश गरिएको हो।
कार्यसूचीको बुँदा नम्बर २१ अनुसार नागरिकताको प्रतिलिपि तथा राहदानी सेवा देशका कुनै पनि जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउने निर्णय गरिएको छ। यस व्यवस्था कार्यान्वयनका लागि सरकारले डिजिटल तथा एकीकृत प्रणाली प्रयोग गर्ने योजना अघि सारेको छ।
अब वडास्तरबाटै डिजिटल सिफारिस गर्ने व्यवस्था मिलाइने र राष्ट्रिय परिचयपत्रलाई एकल परिचयका रूपमा अनिवार्य प्रयोग गरिने जनाइएको छ। यसअघि नागरिकता वा राहदानीसम्बन्धी सेवा लिन आफ्नै गृह जिल्ला जानुपर्ने झन्झट थियो। नयाँ व्यवस्थासँगै सेवा प्रवाहलाई छिटो, पारदर्शी र सहज बनाउने लक्ष्य राखिएको छ।
सरकारले बिचौलियामुक्त, समयबद्ध र ट्र्याकिङ गर्न सकिने प्रविधिमैत्री प्रणाली विकास गर्ने तयारी गरेको कार्यसूचीमा उल्लेख छ। साथै, ‘फेसलेस’ प्रणालीमार्फत सेवाग्राहीलाई कार्यालयमा उपस्थित नभई सेवा लिन सक्ने व्यवस्था गर्ने लक्ष्य पनि राखिएको छ।























