सीमित स्रोत साधनमा पनि विशेषज्ञ सेवा प्रवाह गर्दै पशुपति चौलागाईं स्मृति अस्पताल


दोलखा । बागमती प्रदेश सरकार मातहतको दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा विशेषज्ञ र डायलाइसिस सेवा सुरू भएसँगै उपकरण र स्रोतसाधनको माग भएको छ ।
जिल्लावासी र जिल्लामा अस्थायी रूपमा बस्नेलाई उपचार पाउन विगतमा जस्तो जनकपुर, धुलिखेल वा काठमाडौँ धाउनुपर्ने अवस्था क्रमशः अन्त्य भएको छ । जिल्लाका स्थानीय तहमा विशेषज्ञ सेवा नभएकाले जिल्ला सदरमुकामको यो अस्पताल अब विशेषज्ञ सेवाका लागि भरपर्दो विकल्प भएको छ ।
अस्पतालामा दरबन्दीमा ७० र करारमा गरी हाल १०० कर्मचारी कार्यरत छन् । यहाँ हाल जाडो समयमा दैनिक १०० र गर्मीको समयमा ५०० सम्म बिरामी सेवा लिन आउने गर्दछन् । सरकारी अस्पताल भएकाले तोकिएको सुलभ शुल्कका आधारामा न्यून आम्दानी हुने र स्वास्थ्य बिमावापतको रकम समयमा भुक्तानी नहुँदा चालु पुँजीमा समस्या रहेको डा पौडेलले बताए ।
गत सातादेखि मात्रै यस अस्पतालको जिम्मेवारीमा आएका पौडेलका अनुसार स्वास्थ्य बिमावबापत अस्पतालले रु ४० लाख भुक्तानी पाउन बाँकी रहेको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुवास रिमाल स्रोत साधनको खोजीका लागि प्रदेश सरकारसँग अनुरोध गरिएको बताउँछन् ।
उनले यही मङ्सिर ४ गते १२ श्ययाको आकस्मिक सेवा प्रबन्ध गर्न रूपा फाउण्डेशनमार्फत आत्मकृष्ण श्रेष्ठसँग रु १० लाख बराबरको सहकार्यको सम्झौता भएको जानकारी दिए । ‘भवन र स्रोतसाधन जुटाउँदै गएका छौँ तर विशेषज्ञ चिकित्सकलाई लामो समयसम्म टिकाउन मुस्किल पर्छ’, अध्यक्ष रिमालले भने ।
प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जिल्ला अस्पताल हुँदै प्रादेशिक अस्पतालमा स्तरोन्नति भएपछि स्वाभाविक रूपमा भौतिक पूर्वाधार र उपकरणको आवश्यकता बढ्ने भएको बताए । आफूहरूले विशेषज्ञ सेवा र डायलाइसिस सेवा थपेकाले चुनौती पनि थपिएका बताए ।
उनले दोलखाको अस्पतालको नयाँ भवनलाई ‘लिफ्ट’का लागि गत आर्थिक वर्षमा बजेट विनियोजन गरिएकामा ठेकेदारबाट समयमा काम नहुँदा बजेट फ्रिज भएपछि अहिले पुनःबजेट विनियोजनको प्रक्रिया सुरू भएको बताउँदै आवश्यक केही उपकरणको बोलपत्र हुने जानकारी दिए । उनले प्रदेशका सबै १३ अस्पतालले औषधि र उपकरण खरिद प्रक्रिया सुरु गरेका बताए ।
विसं २०३१ मा ‘दोलखा हेल्थ सेन्टर’का नामबाट सञ्चालन हुँदै २०६६ देखि २०७२ सालसम्म प्राथमिक स्वास्थ्य सेवा केन्द्रका रुपमा सञ्चालनमा रहेको थियो । यहाँ कोभिडको अवधिमा एमएसएफ बेल्जियम र प्राथमिक स्वास्थ्य सेवा केन्द्रको समजदारीमा शल्यक्रियासहितको आकस्मिक सेवा सञ्चालन भएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र न्याय हेल्थ नेपालबिच २०७२ माघ ५ गते चरीकोट अस्पताल सञ्चालन सम्बन्धमा भएको सम्झौताअनुसार सो प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० श्ययामा स्तरोन्नति गरिएको थियो ।
न्याय हेल्थले २०७७ कात्तिक १५ गते सहयोग नगर्ने घोषण गरेपछि केही महिना भीमेश्वर नगरपालिकाले व्यवस्थापन सम्हालेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको २०७७ मङ्सिर १८ गतेको निर्णयानुसार यस अस्पतालको व्यवस्थापन वागमती प्रदेश सरकारको मातहतमा आएको थियो ।
वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले २०७८ फागुन ५ गते चरीकोट अस्पताललाई पशुपति चौलागाईं स्मृति अस्पतालमा परिवर्तन गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्वसांसद चौलागाईंको २०७८ वैशाख २८ गते कोभिडका कारण निधन भएको थियो । उनको स्मृतिलाई चिरस्थायी बनाउन उनको नामबाट अस्पतालको नामाकरण भएको हो ।























