इरानमा किन भइरहेको छ अभूतपूर्व जलसंकट ?

नवलपुर टुडे


काठमाडौं । इरानले करिब ६ दशकयताकै सबैभन्दा गम्भीर सुक्खा भोगिरहेको छ । जसका कारण देशका प्रमुख बाँधहरूको जलस्तर न्यूनतम तहमा झरेको छ ।
इरानी अधिकारीहरूले तेहरान प्रान्तमा लगभग एक शताब्दीमा देखिएको सबैभन्दा भीषण सुक्खा परेको बताएका छन् । त्यसका कारण राजधानी तेहरानमा पानी रासनिङ (निश्चित मात्रामा वितरण) लागु गरिएको घोषणा गरेका छन् ।
तेहरान वाटर एन्ड वेस्टवाटर कम्पनीका प्रमुख मोहसेन अर्दकानीले गत शनिबार (नोभेम्बर ८) का गत वर्ष देशभर जम्मा १५९ मिलिमिटर वर्षा मात्र रेकर्ड गरिएको बताएका थिए ।
न्युयोर्क टाइम्सका अनुसार, इरानका जलसम्बन्धी मामिलाका प्रवक्ता इसा बोजोर्गजादेले सहरी क्षेत्रमा हुने पानीको चुहावट घटाउन र जलाशय पुनः भरिने अवसर सिर्जना गर्नका लागि आधारातदेखि बिहानसम्म पानीको चाप घटाइने बताए ।
यसैबीच, राष्ट्रपति मसउद पेजेस्कियनले निकट भविष्यमा पर्याप्त वर्षा नपरेमा, केवल रासनिङले समस्या समाधान गर्न नसक्ने र परिस्थिति बिग्रँदै गएमा तेहरानका बासिन्दाहरूलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।
इरानमा पानी आपूर्तिको अवस्था
इरानी राष्ट्रिय ठूला बाँध समितिका अनुसार, इरानमा हाल ५२३ वटा ठूला बाँधहरू सञ्चालनमा रहेका छन् । त्यसमा लगभग ९९.६ प्रतिशत सहरी जनसंख्या र ८२ प्रतिशत ग्रामीण जनसंख्यालाई पिउने पानीको आपूर्ति उपलब्ध रहेको अनुमान गरिएको छ ।
हालका महिनाहरूमा पानीसंकटप्रति चिन्ता तीव्ररूपमा बढेको छ । इरानी जलस्रोत व्यवस्थापन कम्पनीले गत अक्टोबरमा देशका कुल जलाशयको करिब १० प्रतिशत अंश ओगट्ने १९ वटा प्रमुख बाँध सुक्खा भएको बताएको थियो ।
एफपीले आइतबार दिएको जानकारीअनुसार, तेहरानलाई पानी आपूर्ति गर्ने पाँच प्रमुख बाँधहरूको जलस्तर गम्भीर अवस्थामा पुगेको बताइएको छ । तीमध्ये एउटा बाँध लगभग पूर्णरूपमा खाली भइसकेको छ । अर्कोमा ८ प्रतिशतभन्दा कम पानी बाँकी रहेको बताइएको छ ।
करज नदीमा अवस्थित अमिर कबिर बाँधमा प्रतिदिन १४ लाख घन लिटर मात्र पानी बाँकी रहेको अनुमान छ, जसले दुई हप्ताभन्दा बढी टिक्न नसक्ने देखिन्छ । यसको विपरीत, तेहरान प्रान्तमा दैनिक पानीको उपभोग लगभग ३० लाख घन लिटर रहेको अनुमान गरिएको छ ।
त्यस्तै, इरानको पवित्र सहर र उत्तर–पूर्वी रजवी खोरासान प्रान्तमा अवस्थित मसहदमा सहरलाई पानी आपूर्ति गर्ने चार बाँधहरूको जलस्तर ३ प्रतिशतभन्दा तल झरेको आईएसएनए समाचार एजेन्सीले जनाएको छ ।
इरानमा अहिले सुक्खा किन ?
तत्काल हेर्दा, शरद ऋतुमा पर्याप्त वर्षा नहुँदा इरानमा सुक्खाको सुरुवात भएको हो । ग्रीष्म ऋतुमा बढेको तापक्रम र विद्युत् आपूर्तिमा आएको व्यापक कटौतीले यस अवस्थालाई अझ गम्भीर बनाएको छ ।
राष्ट्रपति मसौद पेजेश्कियनले गत जुलाईदेखि नै आसन्न जलसंकटबारे चेतावनी दिँदै आएका छन् । उनले विशेष गरी तेहरानलाई पिउने पानी आपूर्ति गर्ने धेरै जलाशयहरू सुक्दै गएको उल्लेख गरेका थिए । सरकारले त्यतिबेला प्रान्तका जलाशयहरू केही हप्तामात्र टिक्ने अनुमान गरेको थियो ।
देशका जल व्यवस्थापन नीतिहरू पनि यो संकटका लागि जिम्मेवार ठहरिएका छन् । नियन्त्रणविहीन बाँध निर्माण, अस्थिर खेतीपाती पद्धतिहरू र अवैध कुपखननले इरानका जलस्रोतहरू क्रमशः सुकाउँदै लगेका छन् ।
न्युयोर्क टाइम्सका अनुसार, तेहरानमा मात्र जमिन वार्षिक रूपमा करिब ३०० मिलिमिटरले धँसिरहेको र यो भौतिक पूर्वाधारको स्थिरता र सुरक्षाका लागि निर्धारित गम्भीर सीमाभन्दा लगभग ६० गुणा बढी हो ।
इरानी मूलका जलवायु वैज्ञानिक कावेह मदानीले देशमा पानीको चरम अभावको अवस्था सिर्जना गर्न आधिकारिक नीतिहरू नै जिम्मेवार रहेको बताएका छन् । सन् २०१६ मा मदानी, अमिर आघाकोचक र अली मिर्चीद्वारा प्रकाशित अनुसन्धानपत्रमा ताल, सिमसार र नदीजस्ता जलस्रोतहरूको गलत व्यवस्थापनले देशव्यापी मरुभूमीकरण र बारम्बार आँधीबेहरी निम्त्याएको उल्लेख छ ।
रोयटर्सले प्रकाशित गरेको प्रोफाइल अनुसार, मदानीले सरकारलाई यी विफलताहरू बुझ्न असफल भएको र सम्पूर्ण दोष जलवायु परिवर्तन तथा पश्चिमी औद्योगिक राष्ट्रहरूमा मढिएको बताएका छन् र ती राष्ट्रहरूले विश्वव्यापी कार्बन उत्सर्जनमा ठूलो योगदान दिएको बताइएको छ ।
अन्य भूमिका खेल्ने कारकहरू
कावेह मदानीले इरानमा लगाइएका विश्वव्यापी आर्थिक प्रतिबन्धहरू पनि देशको जलसंकट र थप ठूला वातावरणीय समस्याका लागि जिम्मेवार रहेको बताएका छन् । उनका अनुसार, यी प्रतिबन्धहरूले देशलाई आत्मनिर्भर बन्न बाध्य पारेका छन् ।
सन् २०२० मा प्रकाशित उनको शोधपत्र ‘इरान अन्डर स्याङ्क्सन’का अनुसार, पेट्रोलियम निर्यात रोकिएपछि इरानले आफ्नै कच्चा तेल शोधन कारखाना निर्माण गर्न थालेको थियो । त्यस्तै, कार बिक्रीमा प्रतिबन्ध लागेपछि उनीहरूले अदक्ष र बढी प्रदूषण फैलाउने सवारी साधनहरूको उत्पादन सुरु गरे ।
सुक्खाको गम्भीरता बढेसँगै, इरानका केही अधिकारीहरू र नागरिकबीच छिमेकी देशहरूले वर्षाका बादलहरू चोरेको भन्ने ‘कन्सपिरेसी थिओरी’ पनि फैलिएका छन् । तर, इरानको वायुमण्डलीय जल प्रविधि प्रमुखले यी दाबीहरूलाई पूर्ण रूपमा खारेज गरेका छन् ।
बीबीसीको रिपोर्ट अनुसार, इरानका ऊर्जा मन्त्री अली आबादीले तेहरानको जलसंकटका लागि सय वर्ष पुरानो पानी आपूर्ति प्रणालीमा हुने चुहावटलाई जिम्मेवार ठहराएका छन् । उनले यसका साथै जुन महिनामा भएको इजरायलसँगको द्वन्द्वलाई पनि अप्रत्यक्ष रूपमा कारणका रूपमा उल्लेख गरेका थिए ।
सन् २०२५ को जुन १५ मा इजरायलले तेहरानको उत्तरी भाग ताजरिशमा आक्रमण गरेको थियो, त्यसपछि सो क्षेत्रमा व्यापक बाढी आएको थियो ।
इरानले जलसंकटको सामना कसरी गरिरहेको छ ?
राष्ट्रपति मसौद पेजेस्कियन महिनौँदेखि तेहरानको जलसंकटबारे चेतावनी दिँदै आएका छन् । उनले देशको राजधानीलाई फारसको खाडीको किनारमा रहेको ‘खुला पानीको पहुँच भएको दक्षिणी क्षेत्रमा’ सार्ने लामो समयदेखिको प्रस्तावलाई पुनः अघि सारेका छन् ।
इरानी अधिकारीहरूले यो हप्ता तेहरानमा रातिभर पानी आपूर्ति कटौती सुरु गरेका छन् । राज्य–नियन्त्रित तस्निम समाचार एजेन्सीका अनुसार, यो कटौती अझै केही समयसम्म जारी रहने अनुमान छ ।
तत्काल समाधानको रूपमा वर्षा भित्र्याउने उद्देश्यले इरानी ऊर्जा मन्त्रालयले क्लाउड सिडिङ कार्यक्रमको प्रस्ताव अघि सारेको छ । यो प्रक्रियामा सिल्भर आयोडाइड जस्ता कणहरू बादलमा छरिन्छन्, ताकि कृत्रिम रूपमा वर्षा सुरु गर्न सकियोस् ।
भारतको दिल्ली सरकार र आईआईटी कानपुरले पनि मनसुनपछि वायु गुणस्तरमा आएको गिरावट नियन्त्रण गर्न गत अक्टोबर २८ मा यही विधि प्रयोग गरेका थिए । तर, वर्षा ल्याउने उपयुक्त बादल नहुँदा उक्त प्रयास सफल हुन सकेन ।
सफरका संस्थापक तथा परियोजना निर्देशक डा. गुफ्रान बेगका अनुसार, यो प्रविधिको सफलताको सम्भावना सीमित हुन्छ र यसले केवल अल्पकालीन राहत मात्र दिन सक्छ । इन्डियन एक्स्प्रेसबाट ।

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

जलवायु न्याय, वित्त र पर्वतीय विषय हाम्रा मुद्दा हुन् : मन्त्री चौधरी

सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

दाँतको दुखाइमा किन प्रभावकारी हुन्छ ल्वाङ?

अरुपनि पढ्नुहोस
सबै
दक्षिण कोरियाको कर लेखा परीक्षामा पहिलो भएका परीक्षार्थीले एआईको सहायतामा दिएका थिए परीक्षा

चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

छठघाट रेखदेख गर्न बसेका ६० वर्षीय यादव मृत

संकटमा रैथाने बासमती : हाइब्रिडको विस्तार र सिँचाइ अभावले मौलिक बास्ना हराउँदै
















