तिहार मनाउन छ लाख मानिसले उपत्यका छोड्ने अनुमान

रासस
२०८२ कार्तिक २ | मध्यान्ह ०१:०७ बजे

काठमाडौँ, कात्तिक २। शनिबारदेखि सुरु भएको तिहारका लागि करिब छ लाख मानिसहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसपटक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको सङ्ख्या बढ्ने अनुमान रहेको जनाएको हो ।
सडक विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले पनि देशभरका मुख्य राजमार्ग सुधार भइसकेकाले तिहार मनाउन टाढा जानेहरूले समस्या भोग्नु नपर्ने बताउनुभयो । “दसैँको समयमा बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्गमध्ये मेची राजमागस्थित माईखोला खुल्न बाँकी थियो । शनिबारबाट त्यो पनि सञ्चालनमा आइसकेको छ । अब राष्ट्रिय राजमार्गमा समस्या छैन”, उहाँले भन्नुभयो, “कुनै कारणले वा सुक्खा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने अवस्था आएमा पनि तत्काल सडक सञ्चालन गर्न हामी तयारी अवस्थामा छौँ ।”


















