अभिभावकविहीन बालबालिकालाई दसैँमा नयाँ लुगा


देवदह (रुपन्देही), असोज १४। लायन्स क्लब अफ सिद्धार्थनगर युथले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ । क्लबले आफ्नो नवौँ स्थापना दिवस तथा बडादसैँका अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रमका बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको हो ।
त्यस्तै निवर्तमान डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्स क्लब अफ सिद्धार्थनगर युथले सामाजिक कार्यलाई बहन गर्दै आएको बताउनुभयो । सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर मीना पन्थीले आफ्नो खर्च कटाएर क्लबका सदस्यले सेवाको हात अगाडि बढाउनु प्रशंसनीय रहेको बताउनुभयो ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथका संस्थापक अध्यक्ष अर्चित श्रेष्ठले यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा खुसीको अनुभूति भएको बताउनुभयो । कार्यक्रममा क्लबका संस्थापक सदस्यलाई सम्मान गरिएको सचिव विराट गुरुङले बताउनुभयो । नेपाल अविनाश अनाथ आश्रममा हाल २२ जना बालबालिका रहेको अध्यक्ष कृष्णप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।























