पहिरो र चाडपर्वका कारण बढे हवाई यात्रु


चितवन, असोज १०। नारायणगढ–मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा गर्नेको सङ्ख्या बढेको छ । सामान्य अवस्थाभन्दा अहिले यात्रुको चाप बढेको हो । भरतपुर विमानस्थलबाट दैनिक सात उडान हुँदै आएकामा पहिरोका कारण अहिले दैनिक १० उडान गरिएको छ । काठमाडौँ–भरतपुर, भरतपुर–पोखरा उडान भर्दै आएको बुद्ध यएरले यात्रुको चाप बढेसँगै विमानसमेत थप गरेको हो । बुद्ध यएर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतका अनुसार अहिले १०० भन्दा बढी यात्रुको सङ्ख्या थपिएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला लगायका ठाउँ र पृथ्वी राजमार्गको धादिङ क्षेत्रमा पहिरोको जोखिम भएसँगै यात्रुको चाप बढेको उहाँले बताउनुभयो । बिहान ८ः०० देखि अपराह्न ३ः३५ बजेसम्ममा अहिले दैनिक १० उडान भर्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।
भरतपुर–पोखरा एउटा उडान र भरतपुर–काठमाडौँ नौ उडान भरिँदै आएको उहाँले बताउनुभयो । बस्नेतका अनुसार एयर ट्राफिकका कारण समस्या हुने भएकाले थप उडान गर्न नसकिएको उहाँले बताउनुभयो । उडान थप हुँदासमेत यात्रुले सहज टिकट पाउने अवस्था छैन ।
रात्रिकालीन उडान नहुँदा हवाई यात्रा गर्ने यात्रुलाई समयको परिधिमा गर्नुपर्ने बाध्यता रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धावन मार्ग छोटो हुँदा र रात्रिकालीन उडान नहुँदा मागअनुसारको उडान गर्न सकेका छैनौँ ।” यहाँबाट बुद्ध एयरले मात्र उडान भर्दै आएको छ । विमानस्थल प्रमुख दीपक विकेका अनुसार सामान्य अवस्थाभन्दा अहिले हवाई यात्रा गर्नेको चाप बढेको छ । पहिरो र चाडपर्वका कारण यात्रुको चाप बढेको उहाँले बताउनुभयो । यहाँ हुँदै चितवनसहित मकवानपुर, नवलपरासीका यात्रु आउने जाने गर्दछन् ।























