Opens in a new tab

अर्थ

नवलपुरको हुप्सेकोटका ५६ बालिकालाई रु पाँच हजारसहितको बैंक खाता उपहार

रासस
२०८२ बैशाख १५ | बिहान ०७:०१ बजे

मध्यविन्दु (नवलपरासी), वैशाख  १५ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ५६ जना बालिकाहरुलाई रु पाँच हजारसहितको बैंक खाता उपहार दिएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ५६ जना छोरीहरूको बैंक खातामा उक्त रकम जम्मा गरिएको हो । हुप्सेकोट गाउँपालिकामा स्थायी बसोबास गरेका दम्पतीले छोरी जन्मिएर वडा कार्यालयमा जन्म दर्ता गराएपछि छोरीको नाममा खोलिने बैंक खातामा गाउँपालिकाले नगद उक्त रकम जम्मा गरिदिने गरेकोे हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।

“चालु आर्थिक वर्षको चैत मसान्तसम्म जन्मिएका ५६ जना छोरीहरुको बैंक खातामा रु पाँच हजारका दरले रु दुई लाख ८० हजार निकासा भइसकेको छ”, उहाँले भन्नुभयो, “छोरीको बैंक खातामा अभिभावकलाईसमेत कम्तीमा रु पाँच हजार जम्मा गर्न आग्रह गर्ने गरेका छौँ ।” छोरीको नाममा बैंक खातामा जम्मा भएको रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षासहित बचत गर्ने बानीको विकास उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो । “यसरी बैंकमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा रहेको छ”, उहाँले भन्नुभयो, “छोरी जन्मदा खुसी नहुने समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरताको विकास गर्नुका साथै भ्रूण हत्या रोक्नका लागि पनि यो अभियान सुरु गरिएको हो ।”

हुप्सेकोट गाउँपालिकाले आव २०७७/७८ देखि यो कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रममार्फत हालसम्म ३१२ जना छोरी लाभान्वित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताउनुभयो । “आव २०७७/७८ मा ३८ जना, २०७८/७९ मा ५९ जना, २०७९/८० मा ९७ जना र २०८०/८१ मा ६२ जना बालिकाको बैंक खातामा रकम जम्मा गरिएको छ”,उहाँले भन्नुभयो ।

उक्त कार्यक्रम सञ्चालन भएपछि उमेर पुगेर बच्चा जन्माउने, नियमित स्वास्थ्य चौकी आएर गर्भपरीक्षण गर्ने, अस्पतालमा नै सुत्केरी हुने, बच्चाको समयमै जन्म दर्ता गरिदिनेलगायतका सकारात्मक बानीको विकास भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।

कमेन्टहरु