अपराध

राैतहटबाट नक्कली नोटसहित दुईजना पक्राउ

नवलपुर टुडे
२०८१ साउन ११ | मध्यान्ह ०२:०४ बजे

राैतहट । प्रहरीले नक्कली नोटसहित बिहीबार राति पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का नजरे आलम र इमामुल हक दर्जी छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको टोलीले नेपाली एक हजारको १३ थान नक्कली नोटसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक एलिजा गिरीले नक्कली नोट कहाँबाट ल्याएको भन्ने बारेमा अनुसन्धान भइरहेको बताइन् । ‘अन्य समुहको संकलग्नता बारे पनि अनुसन्धान भइरहेको छ,’ उनले भनिन् । जिल्लामा पछिल्लो ३ वर्ष यता नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय देखिन्छ । यसअघि २०७८ मंसिरमा रौतहटको सीमावर्ती प्रहरी चौकी मोतीपुर नरकटियाबाट खटिएको प्रहरी टोलीले परोहा नगरपालिका– ८ स्थित नरकटियाबाट भारत बिहारका विकाश जयसवाल र अजय प्रसादलाई १ हजारको ६९ थान र ५ सयको १ थान नक्कली नोट सहित पक्राउ गरेको थियो ।

त्यसको एक सातापछि २०७८ पुसमा प्रहरीले ९ लाख ९३ हजार रुपैयाँ नेपाली नक्कली नोटसहित धनुषा बट्टेश्वर गाउँपालिका–४ का शत्रुधन वरई ठाकुर, महोत्तरी बर्दिवास नगरपालिका–९ का रन्जित महतो र महोत्तरी भङ्गाहा नगरपालिका–४ प्रेमनगरका दिपेन्द्र कुमार महतोलाई पक्राउ गरेको थियो ।

 

कमेन्टहरु