अपराध

कपिलवस्तु मालपोत कार्यालयका कर्मचारी कुटिए

धर्मेन्द्र कुमार कुर्मी
२०८० पुस २० | मध्यान्ह ०७:०९ बजे

कपिलवस्तु, पुस २० । भुमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका एक कर्मचारी कुटिएका छन् । कार्यालयको मोठ फाँटमा कार्यरत करार सेवाका कार्यालय सहयोगी निरज कंडेल माथि कुटपिट भएको हो ।

कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाका सर्वजित मिश्राले कंडेललाई कुटपिट गरेका हुन् । लेखापढी व्यवसायी दुर्गा पाण्डेयको सहयोगी कर्मचारीको रुपमा रहेका मिश्राले कंडेललाई कुटपिट गरेको खुल्न आएको छ । लेखापढि व्यवसायीका सहयोगी रहेका मिश्राले कार्य सम्पादनमा असन्तुष्टीका कारण कंडेललाई कुटपिट गरेको हुन सक्ने श्रोतको दावी छ ।

कंडेललाई कुटपिट पश्चात मिश्रा कार्यालयबाट बाहिरिएर सम्पर्कबिहिन बनेका थिए । कुटपिटका कारण कंडेलको निधारको देब्रे भागमा चोट पटक लागेको छ । दुबैबिचको आपसी असमझदारीले कुटपिटको घटना भएको हुन सक्ने लेखापढी व्यवसायीहरु बताउँछन । यता घटनापछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र वडा प्रहरी कार्यालय तौलिहवाको प्रहरी टोली कार्यालयमा पुगेको छ ।

कार्यालयले मिश्राबिरुद्ध प्रशासनमा उजुरी दिने तयारी गरेको छ । कुटपिटको घटना आफैमा गलत भएको भए पनि कुटपिट भएका कर्मचारी कंडेलको कार्यशैलीप्रति अधिकांस लेखापढि व्यवसायी असन्तुष्ट रहेको दावी छ । कुनै फाँटबाट अर्को फाँटमा फाईल पुराउदा कंडेलले खुल्लम खुल्ला घुस माग्ने गरेको एक लेखापढि व्यवसायीले नाम प्रकाशन नगर्ने सर्तमा आरोप लगाए ।

यता कार्यालयका कर्मचारीमाथि सांघातिक आक्रमण गर्ने व्यक्ति उपर कडा भन्दा कडा कारवाहीको माग अगाडि बढाईने कार्यालयका प्रमुख मालपोत अधिकृत देवी बहादुर भण्डारीले बताए । “आम सर्व साधारणले सेवा प्राप्त गर्न घण्टौं लाईन लाग्नुपर्ने तर बिचौलीया र असन्बन्धित व्यक्तिले सहजै सेवा पाएको गुनासो आउने गरेको छ । कतै कुटपिटको कारण यो पनि हुन सक्छ कि ? ” भन्ने नवलपुर टुडेकर्मीको प्रश्नको जवाफमा प्रमुख भण्डारीले यो दुषित र गलत नियतको प्रश्न भएकाले यसको जवाफ दिन नसक्ने उनले बताए ।

कमेन्टहरु