वैज्ञानिकहरूले प्रयोगशालामा बनाएको लघु मानव मस्तिष्कले एआईलाई उछिन्न सक्ने


न्यूयोर्क । अमेरिका र अस्ट्रेलियाका वैज्ञानिकहरूले प्रयोगशालामा मानव मस्तिष्कका साना संरचना विकास गरी त्यसलाई कम्प्युटिङका काममा प्रयोग गर्न थालेका छन् । यस्तो जैविक मस्तिष्कले भविष्यमा केही काममा कृत्रिम बौद्धिकता (एआई) प्रणालीलाई समेत टक्कर दिन सक्ने उनीहरूको भनाइ छ । अमेरिका र अस्ट्रेलियाका विभिन्न प्रयोगशालामा स्टेम सेलबाट यस्ता साना मस्तिष्क विकास गर्ने काम भइरहेको छ । ब्रेन अर्गानाइड भनिने यी संरचना वयस्क मानिसको छाला, रगत वा कपालका कोशिकालाई पुनः स्टेम सेलको अवस्थामा फर्काएर विकास गरिन्छ । त्यसपछि ती कोशिकालाई न्युरोनको समूह बन्ने गरी हुर्काइन्छ ।
मानव मस्तिष्कको तुलनामा निकै सरल भए पनि ब्रेन अर्गानाइडमा विद्युतीय संकेत उत्पन्न हुन्छन् र बाह्य उत्तेजनाअनुसार प्रतिक्रिया दिन सक्ने क्षमता हुन्छ । क्यालिफोर्निया विश्वविद्यालय, सान डिएगोका अनुसन्धानकर्ताले यस्ता मस्तिष्क संरचनाको प्रयोग गरी रोबोटलाई भूलभुलैयामा बाटो पहिल्याउन लगाएका छन् । त्यस्तै, अटिजमलगायत स्नायुसम्बन्धी अवस्थाको अध्ययनमा पनि यसको प्रयोग भइरहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयमा भने यिनै संरचनालाई नयाँ किसिमको जैविक कम्प्युटिङ प्रणाली विकास गर्न प्रयोग गरिएको छ ।
कम्पनीले सीएल–१ नामको उपकरण विकास गरेको छ, जुन आकारमा करिब टोस्टरजत्रो छ । यसले एकपटकमा १० लाखसम्म न्युरोन भएको कोषिकीय संरचनालाई करिब ६ महिनासम्म जीवित राख्न सक्छ । कम्पनीले जैविक न्युरोनमा सिलिकनमा आधारित कम्प्युटिङमा हाल उपलब्ध नभएका केही विशेषता रहेको दाबी गरेको छ । तीमध्ये आफैं मर्मत हुने क्षमता, परिस्थितिअनुसार अनुकूल हुन सक्ने क्षमता र कम ऊर्जा खपत प्रमुख छन् ।
सन् २०२५ मा अमेरिकी राष्ट्रिय स्वास्थ्य संस्थानले जनावरमाथिको परीक्षणमा मात्र निर्भर अनुसन्धानका लागि अनुदान नदिने घोषणा गरेपछि यो क्षेत्रमा थप गति आएको छ । त्यसपछि संस्थाले अर्गानाइडमा आधारित मोडलिङका लागि मानकीकृत अनुसन्धान केन्द्र स्थापना गर्न ८ करोड ७० लाख डलर लगानी गरेको थियो । तर प्रयोगशालामा मानव मस्तिष्कका यस्ता संरचना विकास गर्ने क्रमसँगै नैतिक प्रश्न पनि उठेका छन् । हाल ब्रेन अर्गानाइडलाई मानिस वा जनावरका रूपमा वर्गीकरण गरिएको छैन । पर्याप्त विकसित अवस्थामा पुगेपछि यस्ता संरचनाले चेतना वा अनुभूति हासिल गर्न सक्छन् कि सक्दैनन् भन्ने विषयमा दार्शनिक तथा वैज्ञानिकबिच मतभेद छ । यस्तो अवस्था पहिचान गर्ने कुनै सर्वमान्य मापदण्डसमेत अहिलेसम्म बनेको छैन ।
अर्गानाइडको आकारमा रहेको व्यावहारिक सीमाले भने तत्कालका लागि यो बहसलाई केही हदसम्म नियन्त्रण गरेको छ । करिब पाँच मिलिमिटरभन्दा ठुलो अर्गानाइडमा रक्तनलीको व्यवस्था नभए पर्याप्त अक्सिजन पुग्न नसक्दा कोशिका मर्न थाल्छन् । यसै समस्याको समाधानका लागि जोन्स हप्किन्सका अनुसन्धानकर्ताहरू कृत्रिम रक्तनली विकास गर्ने प्रयासमा छन् । करिब एक सेन्टिमिटर आकारको अर्गानाइड विकास गर्नु अहिले यस क्षेत्रमा अर्को ठुलो लक्ष्य मानिएको छ । यस्तो संरचनाको आकार मुसाको मस्तिष्कको हाराहारी हुनेछ ।






















