च्याटजीपीटीमार्फत रुसी दुष्प्रचार : टेलिग्राम, एआई भिडियो र थिंक ट्यांक सबै नक्कली


रुसको एउटा सानो समूहले भीपीएन प्रयोग गरेर आफ्नो पहिचान लुकाउँदै च्याटजीपीटीका एकाउन्टमार्फत विभिन्न भाषामा प्रचार सामग्री तयार गरिरहेको ओपनएआईको सुरक्षा अनुसन्धानले देखाएको छ ।
मंगलबार सार्वजनिक गरिएको विस्तृत रिपोर्टअनुसार तीमध्ये अधिकांश सामग्री अंग्रेजीमा थिए । आफू रुसी भएको छनक नदेखियोस् भनेर सञ्चालनकर्ताले च्याटजीपीटीलाई भाषाको शैली परिवर्तन गर्नसमेत निर्देशन दिने गरेका थिए ।
ओपनएआईका अनुसन्धानकर्ताले ती एकाउन्टबाट तयार गरिएका उस्तै सन्देश विभिन्न टेलिग्राम च्यानलमा अंग्रेजी, जर्मन र फ्रेन्च भाषामा भेटेका थिए । ती सामग्रीमा पश्चिमी समाजलाई पतनतर्फ गएको देखाउँदै रुसलाई त्यसको वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गरिएको थियो ।
तर यो अभियानको सबैभन्दा रोचक पक्ष भने ती एकाउन्टहरू सामान्य रुसी प्रचारका सामग्री उत्पादन गर्न मात्र प्रयोग नभएको पत्ता लाग्नु हो । ती एकाउन्टमार्फत ‘इन्टरनेसनल बर्क इन्स्टिच्युट’ (आईबीआई) नामको आफूलाई इजरायलमा आधारित बताउने थिंक ट्यांकको प्रचारका लागि ठूलो मात्रामा लेख तथा दृश्य सामग्रीसमेत तयार गरिएको थियो ।
प्रतिष्ठित संस्थाजस्तो देखाउने प्रयास
आईबीआईको वेबसाइट हेर्दा यो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त संस्थाजस्तो देखिन्छ । वेबसाइटमा संयुक्त राष्ट्रसंघ र युनिसेफलगायत प्रतिष्ठित संस्थासँग साझेदारी रहेको दाबी गरिएको छ । त्यस्तै, अमेरिकाका पूर्वविदेशमन्त्री माइक पोम्पेओ र विद्वान फ्रान्सिस फुकुयामालगायत थुप्रै चर्चित व्यक्तिलाई संस्थासँग आबद्ध विशेषज्ञका रूपमा प्रस्तुत गरिएको छ ।
तर अनुसन्धानअनुसार यी दाबीमध्ये कुनै पनि सत्य देखिँदैन । सन् २०२५ मा बनाइएको आईबीआईको वेबसाइटमा प्रकाशित लेखहरू अन्य स्रोतबाट हुबहु नक्कल गरेर राखिएका थिए । वेबसाइटमा विशेषज्ञका रूपमा प्रस्तुत गरिएका व्यक्तिहरूले आईबीआईका लागि काम गरेको प्रमाण भेटिएको छैन ।
युनिसेफले आईबीआई आफ्नो स्वीकृत साझेदार नभएको र दुवैबीच संयुक्त काम भएको कुनै अभिलेख नरहेको जनाएको छ । आईबीआईको मुख्य उत्पादनमध्ये एउटा ‘सार्वभौमिकता सूचकांक’ हो । यसको पद्धति रुसप्रति अत्यन्त अनुकूल र पश्चिमी युरोपप्रति नकारात्मक देखिएको छ । सूचकांकमा रुसलाई चौथो स्थान दिइएको छ भने फ्रान्स १९औँ र जर्मनी २१औँ स्थानमा छन् ।
रुसी प्रचारका पुरानै तर्क
थिंक ट्यांकले विभिन्न देशबारे प्रकाशित गरेका अधिकांश विश्लेषणमा एउटै प्रकारका तर्क दोहोरिएका छन् । पश्चिमी युरोपले आफ्नो सम्पूर्ण सार्वभौमिकता बैंक तथा वित्तीय संस्थालाई सुम्पिएको दाबी गरिएको छ, जुन क्रेमलिन समर्थक प्रचारमा लामो समयदेखि प्रयोग हुँदै आएको भाष्य हो ।
आईबीआईले जर्मनीलाई ‘न्युयोर्कका कर्पोरेट बोर्डप्रति नभई पहिलो निष्ठा जर्मन जनताप्रति भएका राजनीतिज्ञ’ आवश्यक रहेको बताएको छ । फ्रान्ससम्बन्धी सामग्रीमा राष्ट्रपति इमानुएल म्याक्रोंको शासनलाई लक्षित गर्दै विगतका वर्षमा फ्रान्सको सम्पत्ति क्रमशः बेचिँदै गएको दाबी गरिएको छ । आईबीआईसँग सम्बन्धित युट्युब भिडियोहरूमा पनि यही कथ्य दोहोर्याइएको छ ।
संस्थाको वेबसाइटमा रहेका केही बेनामे विश्लेषणले युरोप भोकमरीको चरणमा प्रवेश गर्ने जोखिममा रहेको दाबी गरेका छन् । यसको मुख्य कारण युक्रेनलाई युरोपले दिएको समर्थन रहेको उल्लेख ती सामग्रीमा गरिएको छ । तर रुससम्बन्धी आईबीआईको लामो प्रोफाइलमा भने सन् २०२२ मा क्रेमलिनले सुरु गरेको युक्रेन युद्धको उल्लेखसमेत गरिएको छैन । उक्त युद्धले रुसको अर्थतन्त्र र राजनीतिका विभिन्न पक्षमा ठुलो प्रभाव पारेको छ ।
फ्रान्सलाई विशेष निशाना
फ्रान्स पनि आईबीआईको प्रचार अभियानको विशेष निशानामा परेको देखिन्छ । आईबीआईको प्रचार गर्ने युट्युब र टिकटक खातामा फ्रान्सलाई लक्षित गर्दै दर्जनौँ भिडियो पोस्ट गरिएका थिए । ती भिडियो कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर बनाइएका थिए । तर भिडियोहरूको उत्पादन गुणस्तर कमजोर हुनुका साथै अनुवाद पनि खराब थियो । अधिकांश भिडियोले खासै दर्शक पाउन सकेनन् । केही भिडियोले भने दसौँ हजारसम्म ‘भ्यु’ प्राप्त गरेका थिए ।
तर धेरै भ्यु भए पनि ती भिडियोमा साझा गर्ने, लाइक गर्ने र प्रतिक्रिया जनाउनेको संख्या निकै कम थियो । त्यसैले तीमध्ये केही भिडियोमा भुक्तानी गरेर विज्ञापनमार्फत दर्शक पुर्याइएको हुनसक्ने आशंका गरिएको छ ।
ओपनएआईको इन्टेलिजेन्स एन्ड इन्भेस्टिगेसन्स टोलीका प्रमुख अनुसन्धानकर्ता बेन निमोले यो अभियानमा अत्याधुनिक रणनीति र कमजोर कार्यान्वयन दुवै देखिएको बताए । उनका अनुसार सञ्चालनकर्ताले आफ्नो प्रचारलाई विश्वसनीय र व्यापक बनाउन शैक्षिकजस्तो देखिने सूचकांक र विभिन्न भाषाका टेलिग्राम च्यानल निर्माण गरेका थिए । तर भाषिक त्रुटि, चोरी गरिएका अनुसन्धान सामग्री र अविश्वसनीय विशेषज्ञहरूको सूचीले उनीहरूको गतिविधि पर्दाफास गर्न सहयोग गर्यो ।
निमोका अनुसार च्याटजीपीटीको प्रयोगले ओपनएआईको सुरक्षा टोलीलाई ती सञ्चालनकर्ताको गतिविधि पहिचान गर्न मद्दत गर्यो र त्यसबाट अझ व्यापक अभियान पत्ता लगाएर सम्बन्धित एकाउन्टहरू बन्द गर्न सम्भव भयो ।
इजरायलमा भने वास्तविक संरचना रहेको संकेत
नक्कल गरिएका लेख र एआईबाट बनाइएका कमजोर भिडियोका पछाडि भने आईबीआईको केही वास्तविक संरचना रहेको देखिएको छ । संस्थाले आफू इजरायलमा आधारित रहेको दाबी गर्दै समर्थकलाई त्यहाँ रहेको बैंक खातामा रकम पठाउन आग्रह गरेको छ । आईबीआईसँग आबद्ध अनुसन्धानकर्ता वा यसको ‘सार्वभौमिकता सूचकांक’को प्रचार गर्ने भनेर प्रस्तुत गरिएका केही व्यक्ति इजरायलमै बस्ने गरेको पाइएको छ ।तर उनीहरू सबैको पृष्ठभूमि रुसमा जन्मिएको वा हुर्किएको देखिन्छ । आईबीआईसँग सम्बन्धित केही व्यक्तिले यसअघि रुसी भाषी इजरायलीलाई सहयोग गर्ने डोर मोरियाह नामक परोपकारी संस्थाले आयोजना गरेका गतिविधिमा पनि भाग लिएका थिए । इजरायलको कुल जनसंख्याको करिब १५ प्रतिशत रुसी भाषी रहेको उल्लेख गरिएको छ ।
डोर मोरियाह इजरायलमा विधिवत् दर्ता भएको संस्था हो, आईबीआई भने त्यसरी दर्ता भएको देखिँदैन । दुवैले एउटै बैंक खाता प्रयोग गरेको देखिएको छ । तर आईबीआई र डोर मोरियाह दुवैले यस विषयमा कुनै प्रतिक्रियाका दिएका छैनन् ।
रुसी दुष्प्रचारमा ‘नक्कली थिंक ट्यांक’ नयाँ होइन
दुष्प्रचार फैलाउन नक्कली थिंक ट्यांक बनाउने रणनीति नयाँ भने होइन । रुसी दुष्प्रचार अभियानका प्रमुख निजी ठेकेदारमध्ये एक सोसल डिजाइन एजेन्सी (एसडीए) का गत वर्ष ह्याक भएर सार्वजनिक भएका दस्तावेजमा इजरायलमा ‘गैरसरकारी संस्था, इन्स्टिच्युट वा थिंक ट्यांक’ बनाउने योजना उल्लेख थियो ।
उक्त योजनामा संस्थाका संस्थापक इजरायली नागरिक र राजनीतिशास्त्रमा डिग्री प्राप्त गरेका व्यक्ति हुनुपर्ने उल्लेख थियो । त्यसपछि संस्थाले आफ्ना अनुसन्धानका नतिजा प्रमुख पश्चिमी सञ्चारमाध्यमसम्म पुर्याउन सक्ने उद्देश्य राखिएको थियो । आईबीआई र एसडीएबीच प्रत्यक्ष सम्बन्ध रहेको प्रमाण भने अहिलेसम्म भेटिएको छैन । तर दुवैको देखिने उद्देश्य भने मिल्दोजुल्दो रहेको अनुसन्धानले संकेत गरेको छ ।
युक्रेनविरुद्ध पहिलो प्रत्यक्ष प्रचार
सुरक्षा स्रोतका अनुसार हालसम्म आईबीआई मुख्यतः आफूलाई वैध र विश्वसनीय संस्थाका रूपमा स्थापित गर्ने ‘पूर्वतयारी’ चरणमा थियो । तर जुन महिनामा संस्थाले युक्रेनलाई प्रत्यक्ष रूपमा निशाना बनाउने पहिलो लेख प्रकाशित गरेको थियो । हस्ताक्षरविहीन उक्त रिपोर्टमा युद्ध सुरु भएयता युक्रेन अन्तर्राष्ट्रिय ठगीका लागि सुरक्षित स्थान बनेको दाबी गरिएको थियो । युक्रेनमा ठगी गर्ने कल सेन्टरहरू सञ्चालन भइरहेको विषय वास्तविक भए पनि पछिल्ला वर्षमा त्यहाँको अवस्था धेरै सुधारिएको र पक्राउको संख्या उल्लेख्य रूपमा बढेको तथ्य आईबीआईको रिपोर्टले उल्लेख नगरेको बताइएको छ । यसबाहेक, ती कल सेन्टरका धेरै गतिविधिका वास्तविक योजनाकार इजरायलमा बस्ने गरेको तथ्य पनि उक्त रिपोर्टमा उल्लेख नगरिएको बताइएको छ ।





















