कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे मन्त्रिपरिषद् विस्तार


विराटनगर, असोज ८ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले सोमबार मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
दुई जना मन्त्री र दुई राज्यमन्त्री थपेर मुख्यमन्त्री कार्कीले नौ सदस्यीय मन्त्रीमण्डल बनाएका छन् । अब तीन राज्यमन्त्रीसहित मन्त्रिमण्डलमा नौ जना सहभागी भएका छन् । मुख्यमन्त्री कार्कीले यसअघि खानेपानी मन्त्री रहेका तिलकुमार मेन्याङ्बोलाई स्वास्थ्य मन्त्रीमा र पिके राईलाई पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन् ।
यस्तै मुख्यमन्त्री कार्कीले मोरङका लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीमा, धनकुटाका निरन राईलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा र रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
संविधानको धारा १६८ (३) अनुसार बनेको एमाले अल्पमतको सरकारले आगामी असोज २० गतेसम्म विश्वासको मत लिइसक्नुपर्नेछ ।






















