कर्णाली प्रदेश, राजनीति

चुनावमा अन्तर्घात गरेको भन्दै कांग्रेस वडा कमिटीले गर्‍यो पूर्वसभापति लगायतलाई कारबाही सिफारिस

नवलपुर टुडे
२०७९ जेष्ठ ७ | मध्यान्ह ०८:०२ बजे

पाँच वर्षसम्म वडामा हुने पार्टीका कुनै पनि गतिविधिमा सहभागी हुन नदिइने

बिरेन्द्रनगर । स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारविरूद्ध अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेसको वडा कमिटीले सुर्खेत जिल्लाका पूर्वसभापति लगायतका क्रियाशील सदस्यहरूलाई कारबाही गर्न सिफरिस गरेको छ।

नेपाली कांग्रेस सुर्खेतको वीरेन्द्रनगर–१० वडा कमिटीले पूर्वसभापति कमलराज रेग्मीसहित ६ जना क्रियाशील सदस्यलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न जिल्ला अनुशासन समितिलाई सिफारिस गरेको हो । शुक्रबार बसेको वडा कमिटीको बैठकले नेपाली कांग्रेसको विधानको परिच्छेद ९ बमोजिम उक्त कारबाहीको लागि सिफारिस गरेको हो।

कारबाही सिफारिस गरिएका अरू क्रियाशील सदस्यहरूमा गोपालकृष्ण गिरी, ढाकाराम न्यौपाने, धर्मजंग थापा, रवि शाह, अब्दुल गफुर छन् । पूर्वसभापति बाहेकका अरू पाँच जनालाई अबको पाँच वर्षसम्म वडामा हुने पार्टीका कुनै पनि गतिविधिमा सहभागी हुन नदिने निर्णयसमेत पनि गरिएको छ।

उनीहरूले वडामा कांग्रेसबाट उठाइएका उम्मेदवारहरूलाई पराजित गराउन नेकपा एमालेसँग मिलेमतो गरेको आरोप लगाइएको छ । पूर्वसभापति रेग्मीले एनसेलको नम्बर प्रयोग गरी कांग्रेसका उम्मेदवारलाई पराजित गराउन कार्यकर्तालाई निर्देशन दिएको आरोप पनि लगाइएको छ।

कमेन्टहरु