कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

नन्द किशोर कुर्मी (लालु)
२०८३ अशोज १६ | बिहान ११:०६ बजे

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक आपसमा ठोक्किँदा बस चालकको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। शुक्रबार बिहान करिब ६ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरखोलामा दुर्घटना भएको हो।
काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ००९९ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.६ ख ३३३३ नम्बरको ट्रक आपसमा ठोक्किएका थिए। प्रहरीका अनुसार ट्रकले सोही दिशातर्फ गइरहेको लु.२ ख २४७१ नम्बरको टिप्परलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आएको बससँग ठक्कर खाएको हो। दुर्घटनामा बाँकेको खजुरा गाउँपालिका–५ निवासी ३४ वर्षीय सुमन खत्री, बस चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए।
दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये सल्यान शारदा नगरपालिका–१५ की ३५ वर्षीया पार्वती बोहोरा, बाँके नेपालगञ्ज उपमहानगरपालिका–२ का १४ वर्षीय सुसान्त, दाङ राप्ती गाउँपालिका–३ का ३४ वर्षीय रिसमान थारु, बाँके गुलरिया गाउँपालिका–६ का २१ वर्षीय विष्णु थारु, मुगु छायानाथ रारा नगरपालिका–१२ का १७ वर्षीय अरुण बुढाथोकी, बाँके राप्तीसोनारी गाउँपालिका–६ का १९ वर्षीय सागर थारु र ३० वर्षीया तिलकुमारी खत्री सामान्य घाइते भएका छन्।
त्यस्तै, दाङ तुलसीपुर उपमहानगरपालिका–९ बलुवाकी २१ वर्षीया सम्झना चुदार, जाजरकोट छेडागाड गाउँपालिका–११ का ४१ वर्षीय दिपेन्द्र गिरी, बाँके खजुरा गाउँपालिका–२ का ४० वर्षीय कृष्णबहादुर भण्डारी र बाँके कोहलपुर नगरपालिका–११ का ४५ वर्षीय गगन चुनारा पनि सामान्य घाइते भएका छन्। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।


















