सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू


जितिया पावनी बड भारी
धिया पुताक ठोकी सुताबै
अपना खायब भरि थारी ।।
हाम्रो देशमा बसोबास गर्ने विभिन्न जातजाति समुदायले विभिन्न चाडपर्व रीतिरिवाज र संस्कृति मनाउँदै आएका छन् । चाडपर्व र संस्कृतिले हामीलाई विश्वमा चिनाएको छ । मधेसको संस्कृति चाडपर्व, रीतिरिवाजको पनि छुट्टै महत्त्व र विशेषता रहेको छ । तराई–मधेसमा मनाइने चाडपर्वमध्ये जितिया एक हो । यो व्रत सन्तान प्राप्ति तथा सन्तानको दीर्घायु र सुस्वास्थ्य र सन्तानप्रतिको ममतासँग जोडिएको कठोर व्रत हो । यो व्रत परापूर्वकालदेखि तराई मधेसका महिलाले गर्दै आएका छन् । यो व्रत थारू समुदायले पनि उत्तिकै महत्त्वका साथ गर्दै आइरहेका छन् ।
यस वर्ष आज षष्टि तिथिदेखि तराई–मधेस महिलाले यो व्रत विधिवत् सुरू गरेका छन् । आज पोखरी वा तलाउमा गएर नुहाएर विधिवत् व्रतको प्रक्रिया सुरू गर्ने र शनिबार सप्तमा तिथिको दिन निराधार पानी पनि नखाई व्रत बस्ने छन् ।
जितिया व्रतको कथा
प्राचीनकालमा शालिवाहन पुत्र जिमुतवाहनमाथि महादेवको असिम कृपा थियो । उनलाई महादेवको वरदान प्राप्त थियोे । नियम निष्ठाले जसले यो व्रत बस्छ, उनको सन्तान दीर्घायु हुने वरदान पाएकाले महिलाले यो व्रत सत्ययुगदेखि महिलाले बस्दै आएको पाइन्छ भविष्य पुरानका अनुसार कनकावती नदीको मध्यभाग नर्मदा नदीको किनारमा पाकरीको रुख थियोे । रुखको फेदमा स्याल र हाँगामा चिल बस्थे । स्याल र चिलबीच एकदमै घनिष्ठ मित्रता थियो ।
जितिया गर्ने व्रतालु महिला नर्मदा नदीमा स्नान गरी त्यही रुखको छेउमा जिमुतवाहन देवतालाई प्रसाद चढाएर कथा सुन्थे । व्रतालु महिलाको कथा सुनेर चिल र स्याललाई पनि व्रत बस्न इच्छा लाग्यो । दुवैले सल्लाह गरेर व्रत बसे । त्यही राति नर्मदा नदीको डिलमा एक जना व्यापारीको छोराको दाहसंस्कार गरेर मलामी फर्के । रुखको टुप्पोबाट चिलले र फेदबाट स्यालले त्यो सबै दृश्य हेरिरहेका थिए । स्याललाई मृतकको मासु खान मन लाग्यो । रात परेपछि स्यालले चिललाई ‘साथी निदायौ?’ भनी सोध्यो ।
चिलले तत्काल जवाफ दिएन । उसले मनमनै नबोल्ने निधो गर्यो । चिललाई लाग्यो, अन्य दिन त यसरी सोध्दैनथ्यो । आज किन यसरी सोधेको होला ? स्यालले चिलसँग पटकपटक एउटै प्रश्न गरिरह्यो । स्यालले जति सोधेपनि चिल बोलेन ।
स्याललाई लाग्यो, चिल निदाइसकेको छ । व्रत बसेको स्यालले मन थाम्न सकेन । चिललाई छलेर स्यालले एक्लै मासु खायो । स्यालको हरेक क्रियाकलाप चिलले रुखबाट हेरिरहेको थियो तर केही बोलेन । निकै दिन बित्यो । स्याल र चिल दुवै मरे । दुवै भाष्कर नामको ब्राह्मणको घरमा छोरी भएर जन्म लिए । ब्राह्मणले जेठी छोरीको नाम शिलावती र कान्छी छोरीको नाम कर्पुरावती राखे ।
शिलावतीको विवाह धनी व्यापारीसँग र कर्पुरावतीको विवाह राजासँग भयो । शिलावतीका सात छोरा जन्मिए । कर्पुरावतीका छोरा जन्मिँदै, मर्दै गए । एक पटक दुवै दिदीबहिनीले जितियाको व्रत बसे ।
शिलावतीले बहिनीको छोरा छैन । उसको डाली कसले खोल्छ ? भनेर चिन्तित हुँदै छोरालाई बहिनीको घर पठाइन् । दिदीका सात छोरा एकैपटक आएको देखेर ईष्र्या लागेर कर्पुरावतीले पालैपालो सबैको टाउको काटेर डालीमा छोपेर दिदीको घर पठाइन् ।
दिदीको घर पुग्दापुग्दै व्रतको प्रभावले सबै टाउको छोरा बनेर घर गए । डालीमा भएको टाउकाको ठाउँमा नरिवल थियोे । व्रत भङ्ग नगरेकै कारण दिदी चिलका मारिएका छोरा जीवित भए । बहिनी स्यालले व्रत भङ्ग गरेकैले जन्मिएका सन्तान पनि मरेर गए ।
व्रत लिइसकेपछि भङ्ग गर्नुहुँदैन भन्ने पाठ यो व्रतले सिकाएको छ । कसैको छोराछोरी कुनैपनि सङ्कटबाट जोगियो भने झम्या खड् जीतिया केन रहौँ, तब बच्लह’अर्थात् आमाले खरजितिया गरेकाले ज्यान जोगियो भन्ने चलन छ । खरदिन भनेको शनिबार, आइतबार वा मङ्गलबार यो व्रत परेपछि मात्र महिलाले पहिलो पटक सुरु गर्ने गर्छन् । खरदिन गरिने व्रतलाई खर जितिया भन्ने चलन रहेको राजविराज नगरपालिका वडा नं ५ सरस्वती टोलकी ५० वर्षीया सुनिता देवले बताइन्।
व्रतको विधि
यस व्रतको अघिल्लो दिन महिला बिहानै उठेर घर आँगन लिपपोत गरेर चोखो पार्छन् । पिना,तेल,घिरौलाको पात,जियलको पात, बाँसको पात, नयाँ लुगा बोकेर महिला समूहमा पोखरी, नदि वा जलाशय गएर र पिनाले नुहाउँछन् । नयाँ लुगा लगाएर पितृ तथा ‘जिमुतवाहन’ देवतालाई पिना, तेल चढाउने गर्छन् ।
व्रतको पहिलो दिन अष्टमीको तिथिको दिन व्रतालु महिलाले नदी, पोखरी वा तलाउमा स्नान गरी सूर्य देवतालाई तोरीको तेल र पिनाको अर्घ दिएर व्रतको सङ्कल्प लिन्छन् । व्रतालुले दिवङ्गत हजुरआमा सासूआमालगायत तीन पुस्ताभित्रको नाता पर्ने पितृ महिलालाई तर्पण दिने चलन छ । यस व्रतलाई षोडष मातृका श्राद्घ पनि भन्ने गरेको राजविराज नगरपालिका–२ का ७५ वर्षीया शम्भु मिश्रले बताए ।
व्रतको अघिल्लो दिन बेलुका व्रतालु महिलाले विभिन्न प्रकारका खाना, दही, मिठाइ, माछा, कोदोको रोटी अनिवार्य रूपमा खाने चलन छ । भोलिपल्ट बिहान ३ः०० देखि ४ः०० बजे व्रतालुले आँगनमा घिरौलाको पातमा पितृ तथा जिमुतवाहनलाई दही, चिउरा,चिनी, केरा, मिठाइ, पान, सुपारी चढाउने गर्छन् ।
व्रत लिएको दिन बेलुकी जतिजना छोरा छन्, त्यति वटा नरिवल, फलफूललगायत पूजाका सामग्री राखेर डाली भर्छन् । डालीलाई छोराले मानको पातले छोपिदिन्छ । व्रतको समय सकेपछि घरमा भएको छोरा, नातिले डाली खोल्ने गर्छन् । डालीबाट प्रसाद झिकेर पुनः पितृ र जिमुतवाहनलाई चढाई सबैलाई बाँडेर दिएपछि व्रतालु महिलाले पानी पिउने र अन्य खानेकुरा खाने चलन छ ।
व्रत लिइसकेपछि व्रतालुको स्वास्थ्यमा जतिसुकै ठूलो समस्या आए पनि व्रत तोड्दैनन् । स्वास्थ्यमा समस्या रहेको बिरामीबाहेक छोरा भएका सबै आमाले छोराको दीर्घायु र सुस्वास्थ्यका लागि अनिवार्य व्रत लिँदै आएका छन् ।
नकारात्मक
सन्तान जन्मिनुअघि व्रत सुरु गरेकी गर्भवती भएपछि पनि व्रत बस्नैपर्ने हुन्छ । यस्तो भएपछि २४ घण्टा होस् वा ३६ घण्टा, व्रत बस्दा कुनै जटिल समस्या आइपर्ला कि भन्ने डर व्रतालुमा रहन्छ । व्रत बसेन भने सन्तानलाई केही भइदेला कि भन्ने डर पनि उत्तिकै रहन्छ । पानी नखाई व्रत बस्न समस्या भएपछि स्लाइन पानी चढाएर पनि व्रत बस्नुपर्ने बाध्यता रहेको छ ।
यो व्रतमा डाली छोप्ने वा खोल्ने काम छोरा, नाति, श्रीमान्ले गर्ने, उनीहरू नभएका बेला छोरी, नातिनी घरमा भए पनि नातेदार वा छिमेकीको छोरा मान्छेलाई बोलाएर भएपनि डाली खोल्न लगाउने तर छोरी, नातिनीलाई अधिकांश परिवारमा खोल्न लगाइँदैन । यसरी छोराको दीर्घायुका लागि व्रत बस्ने कुराले यस व्रतमा छोराछोरीबीच विभेद देखिन्छ ।
सकारात्मक पक्ष
यस व्रतले आपसी सद्भाव कायम गर्नुका साथै मनोरञ्जन पनि प्रदान गरेको छ । महिलाले आफूभित्र भएको क्षमता प्रस्तुत गर्ने अवसर पनि पाउन थालेका छन् । आफन्त, साथी र छिमेकी मिलेर जितियाको सामूहिक दर खाने चलन सुरु भएको छ ।
वर्ष दिनदेखि भेटघाट हुन नसकेका साथीसङ्गी, आफन्त एक आपसमा भेटघाट गरेर शुभकामना आदानप्रदान गर्ने, सामूहिक रूपमा मीठो मसिनो खाने प्रचलन बढेपछि एक अर्काबीच सम्बन्ध सुमधुर बनाउन सहयोग मिलेको छ ।
जितियासम्बन्धी गीत, कथालगायत महिलामा भएको प्रतिभा प्रस्तुत गर्ने अवसर सामूहिक कार्यक्रममा जुट्न थालेको छ । कम खर्चमा हुने धार्मिक दृष्टिले एकदमै महत्त्व बोकेको व्रतका रूपमा पनि यसलाई लिन सकिन्छ । जियल, बाँसर घिरौँलाका पात अनिवार्य चढाइने हुनाले प्रकृति र पर्यावरण रक्षा गर्नुपर्छ भन्ने सन्देशसमेत यस व्रतले दिँदै आएको छ ।
सोह्रश्राद्ध सुरु भएकै अवधिमा यो व्रत गर्नुपर्ने चलन रहेकाले यस व्रतमा छोरी, बुहारी सबैले पितृलाई सम्मान गरेको पाइन्छ । छोराले मात्र सोह्रश्राद्धमा पितृको श्राद्ध गर्ने प्रचलनमा सकारात्मक परिवर्तन गर्दै कतैकतै छोरीले सुरु गरे पनि यो व्रतमा त सदियौँदेखि महिलाले पनि पितृलाई पानी दिने, प्रसादी चढाउने परम्पराले पितृप्रति महिलालाई सुरुदेखि नै जिम्मेवार बनाएको छ । यस्ता पक्षलाई यो व्रतको एकदमै सकारात्मक रूपमा महिलाले लिएका छन् ।






















