बाढी-पहिरोका कारण यी मुख्य राजमार्ग अवरुद्ध


काठमाडौं । बाढी, पहिरो तथा अन्य विपद्का कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। सडक विभागका अनुसार उपत्यकासहित बागमती, गण्डकी र कर्णाली प्रदेशका सडकहरू प्रभावित भएका हुन्।
विवरणअनुसार ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेमा पहिरो गएपछि कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकखण्ड असोज १५ गते दिउँसो ३: ३० बजेदेखि अवरुद्ध रहेको जनाइएको छ।
रसुवामा बाढीका कारण मुख्य राजमार्गका सबै सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। असोज १० गते बिहान १०: ३० बजेदेखि अवरुद्ध सडक तत्काल खुल्न नसकेको र अर्को सूचना नभएसम्मका लागि अवरुद्ध रहेको विवरणमा उल्लेख छ। गण्डकी प्रदेशमा मनाङको बेँसीसहर हुँदै खाङ्सारसम्म जाने सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक असोज ८ गते साँझ ४ बजेबाट अवरुद्ध भएको हो।
त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी तथा अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर क्षेत्रमा पहिरो गएपछि बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक असोज १० गते बिहान ५: ४० बजेदेखि बन्द रहेको छ।
नवलपरासी पूर्वमा कालीगण्डकी करिडोर पनि पहिरोका कारण प्रभावित भएको छ। बुलिङटार गाउँपालिका–६ घुमाउरीघाटमा असोज १० गते बिहान ११: ३० बजे पहिरो गएपछि सडकमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ। त्यस्तै, बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा असोज १४ गते साँझ ४: ४५ बजे पहिरो गएपछि उक्त सडकमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। ठूलो गाडी भने जान नसक्ने अवस्था रहेको जनाइएको छ।
कर्णाली प्रदेशको हुम्लामा पहिरोका कारण कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। खार्पुनाथ गाउँपालिका–१ मसिडी र सर्केगाड गाउँपालिका–६ स्यालटडी क्षेत्रमा सडक अवरुद्ध भएको विवरणमा उल्लेख छ। उक्त सडक असोज ११ गते बिहान ७: ४० बजेदेखि बन्द छ। त्यस्तै, नाम्खा गाउँपालिका–४ यालबाङ र सिमकोट गाउँपालिका–७ ठाडेढुंगा क्षेत्रमा पहिरो गएपछि सिमकोट–हिल्सा सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। यो सडक असोज १२ गते बिहान ९ बजेदेखि बन्द रहेको छ।
सडक विभागको विवरणअनुसार यी सडकखण्डमा तत्काल आवागमन सहज हुन नसकेकाले यात्रु तथा सवारी चालकलाई सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्नुपर्ने अवस्था देखिएको छ।






















