राजनीति

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा शक्ति प्रदर्शन नगर्ने

जगत ठाडा मगर
२०७८ पुस ६ | मध्यान्ह ०२:०९ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको राष्ट्रिय सम्मेलनमा शक्ति प्रदर्शन नगर्ने भएको छ । आगामी पुस ११–१३ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा हुने सम्मेलनमा अरू दलका नेताहरूलाई समेत निम्तो नदिइने स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए ।

पार्टीको महाधिवेशन नभएकाले अरू दलका नेता र विदेशी पाहुनालाई नबोलाउने र पार्टी अध्यक्ष प्रचण्डले सम्मेलन उद्घाटन गर्ने उनको भनाइ छ । “अन्य दलका नेता र विदेशी पाहुनालाई महाधिवेशनमा बोलाइन्छ । यो सम्मेलन भएकाले आन्तरिक हुन्छ । अरू दललाई बोलाउने कार्यक्रम छैन ।” उनले भने “सम्मेलनमा लगभग १५ सयजनाको सहभागिता हुन्छ । अध्यक्षले उद्घाटन गर्नुहुन्छ ।”

पुस ११ गते सम्मेलनको उद्घाटन गर्ने र १२ गतेदेखि बन्दसत्रको कार्यक्रम सुरु हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बन्दसत्रमा राजनीतिक, समसमायिक, विधानलगायत दस्तावेज प्रस्तुत हुनेछन् । “११ गते उद्घाटनसत्र हुन्छ । १२ गतेबाट बन्दसत्र सुरु हुन्छ । बन्दसत्रमा दस्तावेज पेस हुन्छन् । दस्तावेजमाथि छलफल हुन्छ,” ढकालले भने, “छलफलको निष्कर्ष आवश्यक सुझावसहित पेस हुन्छ । उठेका विषयमा अध्यक्षले जवाफ दिनुहुन्छ । सुझावसहित प्रस्ताव पारित हुन्छ ।”

दस्तावेज पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया प्रारम्भ हुनेछ । हालको विधान संशोधन नभए २९९ सदस्यीय केन्द्रीय कमिटी गठन हुनेछ । विधान संशोधन गरेर ११–१५ जनासम्मको पदाधिकारी थप्ने तयारी पनि गरिएको छ । राष्ट्रिय सम्मेलनको केही समयपछि अर्को कार्यक्रममार्फत शक्ति प्रदर्शन गरिने नेताहरू बताउँछन् । अहिले भने शक्ति प्रदर्शन नगरी राष्ट्रिय सम्मेलन गर्न लागिएको ढकालको भनाइ छ ।

राष्ट्रिय सम्मेलनबारे जानकारी गराउन भोलि (बुधबार) पत्रकार सम्मेलन आयोजना गर्ने तयारी छ ।

कमेन्टहरु