एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो : गृहमन्त्री खाँण


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका छन् ।
मंगलवार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले पूर्ववर्ती सरकारकै पालामा एमसीसी परियोजनाका लागि प्रकृयाहरू अगाडि बढाइएको भन्दै यो सम्झौतालाई अगाडि बढाउनु वर्तमान सरकारको दायित्व भएको बताए ।
“एमसीसी पूर्ववर्ती सरकारहरूको पालामै अगाडि बढेको हो । यो नेपालको विकासका लागि नेपाल सरकारले नै एमसीसीको प्रस्तावलाई अगाडि बढाएको हो,” उनले भने, “नेपाल सरकार र एमसीसी परियोजनाको बीचमा धेरै वर्षअगाडि नै सम्झौता भएको हो । त्यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो ।”
गृहमन्त्री खाँणले एमसीसी परियोजना ऋण नभई निःसर्त अनुदान भएको स्पष्ट पारे । सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको उनले उल्लेख गरे ।
उनले भने “एमसीसीको बारेमा केही भ्रम पनि होलान् । यो अमेरिकन सरकारले गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसैअन्तर्गत नेपाल सरकारले विद्युतीकरण र विद्युतीकरणको पनि ट्रान्समिसन स्थापनाका लागि र सडक निर्माणका लागि प्रस्ताव गरेको हो । र, त्यसलाई उहाँहरूले स्वीकार गर्नुभएको हो । यो निःसर्त अनुदान हो । एमसीसीको जुन परियोजना छ, त्यो ऋणमा होइन, अनुदानमा हो । दलहरूको बीचमा छलफल भइराख्या छ । छलफलबाट निष्कर्ष निस्किन्छ र अगाडि बढ्छ ।”
गृहमन्त्री खाँणले एमसीसी संसदबाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलहरूबीचमा छलफल चलिरहेको उल्लेख गर्दै छलफलबाट निष्कर्ष निस्किने र अगाडि बढ्ने बताए ।






















