देश

झा दम्पति हत्या प्रकरण : थप तीन आरोपीलाई धरौटीमा छाड्न अदालतको आदेश

जगत ठाडा मगर
२०७८ पुस ६ | मध्यान्ह १२:०९ बजे

मोहोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकाका झा दम्पतिको हत्यामा संलग्न भएको आरोपमा पुर्पक्षमा पठाइएका थप तीनजनालाई उच्च अदालत जनकपुरले धरौटीमा छाड्न आदेश दिएको छ ।

४ पुसमा न्यायाधीशहरु शकुन्तला घिमिरे र रमेश ढकालको संयुक्त इजलासले आरोपी बब्लु झालाई दुई लाख तथा सुरेन्द्र यादव र राजेन्द्र यादव दुई दाजुभाइलाई जनही पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो।

यसअघि जिल्ला अदालत महोत्तरीले आरोपी तारादेवीलाई दुईलाख तथा मृतक दम्पतिकी जेठी बुहारी अंशु झालाई ५० हजार धरौटीमा छाडिसकेको छ। गत वर्ष फागुन ११ गते घरबाट बेपत्ता भएका पिपरा–५ सहोडवाका ६५ वर्षिय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षिया गीतादेवी झाको शव चैत्र १२ गते पिपरा–२ अतरातमा पुरिएको अवस्थामा फेला परेको थियो।

वृद्ध दम्पतिको शव भेटिएपछि प्रहरीले सातजनालाई पक्राउ गरि अनुसन्धान पछि अदालतमा पेश गरेको थियो। हत्या गर्ने, शव लुकाउने र थप योजनामा संलग्न रहेको भनि जिल्ला अदालतकै निर्णयलाई सदर गर्दै उच्च अदालतले पिपरा–५ का कैलाश झा, सोहि ठाउँका ५२ वर्षिय रामबाबु यादव र भारत विहारको मधुवनी घर भई हाल पिपरा–६ बनौली चोक वस्ने ५० वर्षिय हरेन्द्र ठाकुरलाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दा चलाउन आदेश दिएको हो।

मृतक दम्पतिकै नातामा भतिजो पर्ने सोहि ठाउका कैलाश झाले दम्पतिको हत्या गरी शव एक महिनासम्म आफ्नै घरमा लुकाएर राखेका थिए। पछि हत्यामा संलग्नता खुल्ने डरले शव अन्यत्र सारेपछि उनी पक्राउ परेका थिए। कैलाश झाको घरबाट प्रहरीले शव लुकाएर राखेको जस्तापाताले बनेको ट्रंक र अन्य प्रमाणहरु बरामद गरेको थियो।

कमेन्टहरु