आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


काठमाडौ । प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दैछ । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको हो ।
त्यसअघि बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बोलाइएको छ । आज अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे प्रतिनिधि सभा बैठकमा टेबल नहुने भएको छ ।
संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा एमसिसीबारे उल्लेख गरिएको छैन । आजको बैठकमा यौन हिंसाविरूद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन अध्यादेश २०७८ स्वीकृतीका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठकमा पनि विरोध जारी राख्ने जनाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पूर्ववत् विरोधका कार्यक्रमहरू कायमै रहेको बताए । आफूले सांसदहरूलाई गरेको कारबाहीलाई सभामुख सापकोटाले मान्यता नदिएको विरोधमा वर्षे अधिवेशनभर विरोध जनाएको एमालेले गत मंगलबारदेखि शुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि विरोध जारी राखेको थियो ।
त्यसपछि सभामुख सापकोटाले आजसम्मका लागि बैठक स्थगित गरेका थिए । यसबीचमा संसद बैठक खुलाउन भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले उपस्थित भएको थिएन ।























