देश

युवक हत्या प्रकरण : अपराधीलाई पक्राउ नगरेको भन्दै पुन, राजमार्ग अवरुद्ध

जगत ठाडा मगर
२०७८ पुस ५ | मध्यान्ह ०२:०९ बजे

विनोद मण्डल
सिरहा, ०५ मंसिर । प्रशासन विरुद्ध पुनः स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् । छुरा प्रहार गरी हत्या रहेको घटनामा संलग्न अपराधीलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै गोलबजार नगरपालिका वडा नम्वर ६ डोहटियाका बासिन्दाले पुनः पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

डोहटियाका सयौं महिला र पुरुषले लाठी बोकेर गोलबजारस्थित राजमार्गमा प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले राजमार्ग अवरुद्ध गर्नुका साथै बजार समेत बन्द गराएका हुन् । आइतबार भएको सहमतिअनुसार २४ घण्टाभित्र अपराधीलाई पक्राउ नगरेकाले आफूहरु पुनः आन्दोलनमा उत्रेको स्थानीहरुको भनाई छ ।

आन्दोलनकारीले मेयरले हत्यारा पक्राउ गर्न पहल नगरेको भन्दै गोलबजार नगरपालिकामा तालाबन्दी गरेका छन् । करिब साढे ११ बजेदेखि नै राजमार्ग अवरुद्ध गरिएपछि हजारौं सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् । अपराधीलाई अविलम्ब पक्राउ गरी सजायँ दिनुपर्ने, पीडितलाई क्षतिपूर्ती र घाइतेको निःशुल्क उपचार गर्नुपर्ने आन्दोलनकारीको माग रहेको छ ।

शनिबार साँझ गोलबजार नगरपालिका वडा नम्वर ६ डोहटियाका २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि छुरा प्रहार भएको थियो । रामकुमारको मृत्यु भएको छ भने निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पतालमा भइरहेको छ । मृतकको शव पीडित परिवारले बुझ्न मानिरहेको छैन् ।

कमेन्टहरु