म्याग्दीमा पहिरोले पुरिएर स्काभेटरसहित चालक बेपत्ता

जगत ठाडा मगर
२०७८ पुस ५ | मध्यान्ह १२:०९ बजे

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा सोमबार पहिरोले पुरिएर डोजर (स्काभेटर) सहित चालक बेपत्ता भएका छन् ।
तुदी पावर कम्पनीद्धारा निर्माणाधिन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको सडक निर्माणका क्रममा माथिबाट पहिरो खसेर चालक र स्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रघुगंगा गाउँपालिका–२ का अन्दाजी २७ वर्षीय भिमबहादुर खत्री स्काभेटरसहित पहिरोमा पुरिएको प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले जानकारी दिए ।
उनले भने ‘सडक खनिरहेको अवस्थामा एक्कासी पहिरो खसेर पुरिएको हो । अहिले अर्को स्काभेटरको सहायताले पुरिएको स्काभेटर र चालकको खोजी भइरहेको छ ।’ प्रहरी निरीक्षक गुरुङसहितको सुरक्षाकर्मी टोली, आयोजनाका कर्मचारी, मजदुर तथा स्थानीयबासी स्काभेटर र चालकको खोजीमा जुटेका छन् ।






















