रौतहटमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका – ११ हिमालीवासमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । माओवादीका नेतासमेत रहेका मोटरसाइकल चालक खेदु चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
ना.८ख ४२०२ नम्बरको गुगल निर्माण सेवाको टिपरले आइतबार राति करिब साढे आठ बजेको समयमा ना.१८प ८११५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । टिपरचालक फरार रहेको र चालकको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरका प्रहरी निरीक्षक विष्णु विश्वकर्माले जनकारी दिए ।
चौधरीको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको इन्स्पेक्टर विश्वकर्माले बताए । मृतक खेदु चौधरी फतुवा विजयपुर ९ का माओवादी वडा कमिटी सदस्य रहेको माओवादी नगर अध्यक्ष अजय तिमल्सिनाले जानकारी दिएका छन् । घटना लगतै आक्रोशित स्थानीयहरूले निर्माण सेवाको २ वटा टिपरमा तोडफोड गरेका थिए ।
यसैबीच दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै सोमबार बिहान विजयपुर बजारमा स्थानीय नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् ।






















