लुम्बिनी प्रदेशका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

जगत ठाडा मगर
२०७८ पुस ५ | बिहान १०:०९ बजे

बुटवल । लुम्बिनी प्रदेशका ९ जिल्लामा आज (साेमबार) देखि विद्यालय उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाइँदैछ । १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सरकारले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अभियान पुसको १४ गतेसम्म सञ्चालन गर्ने प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए । लुम्बिनी प्रदेशका रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, पश्चिम नवलपरासी, कपिलवस्तु र बर्दियाका विद्यार्थीलाई खोप लगाउन लागिएको हो ।
लुम्बिनी प्रदेशका तीन जिल्ला रुपन्देही, दाङ र बाँकेमा भने १२ वर्षमाथिका दीर्घरोगीका लागि फाइजर खोप लगाएको र अहिले दोस्रो मात्रा लगाउने क्रम चलिरहेको छ ।






















