धनुषाबाट २० किलो गाँजासहित एकजना भारतीय नागरिक पक्राउ, चारजना फरार


जनकपुरधाम । धनुषाबाट प्रहरीले २० किलो गाँजासहित एक युवकलाई पक्राउ गरेका छन् । शनिबार राति मिथिला नगरपालिका–६ स्थित ढल्केवरबाट प्रहरीले २० किलोे गाँजासहित २२ वर्षीय भारतीय युवक विजयकुमार महतोलाई पक्राउ गरेको हो ।
महतो विहार राज्य मधुवनी जिल्ला खिरहर थाना हिसार ग्राम पञ्चायत ४ का बासिन्दा रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढलकेवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीकाअनुसार पाँचजनाले बीआर ३२ के ९१२७ नम्बरको स्कार्पियोमा गाँजा बोकेर बर्दिवासबाट ढल्केवरतर्फ आउँदै गरेको थियो ।
प्रहरी टोली पुग्दा उनीहरू गाँजा सडकमा फालेर भागेका थिए । भाग्ने क्रममा स्कार्पियो दुर्घटना समेत भएको उनले बताए । प्रहरीले घटनास्थलबाट करिब ५ सय मिटर दक्षिण उखुघारीमा लुकेको अवस्थामा महतोलाई पक्राउ गरेको हो । महतोसँगै रहेका अन्य चारजना फरार भएका छन् ।
फरार भएकाहरूको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















