वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीको नाउँँमा धितो मुल्यांकन गर्दा स्वार्थ नबाझिने गरी गर्नुपर्ने, राष्ट्र बैंकको परिपत्र


काठमाडौँ । धितो मुल्यांकन गर्दा स्वार्थ नबाझिने गरी गर्नुपर्ने भएको छ । बिहिबार राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनी समेतको नाउँँमा परिपत्र जारी गर्दे यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा ग्राह्य हुने सम्पत्तिको मूल्यांकन गराउँदा मूल्यांकनकर्ताले कुनै स्वार्थ नबाझिने गरी वा पूर्वाग्रह नराखी स्वतन्त्र रुपमा, अन्तर्राष्ट्रिय मान्यता र असल अभ्यासहरु समेतका आधारमा धितोको मूल्यांकन गरेको यकीन गर्नुपर्ने छ । इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले धितो मूल्याङ्कन गराउने प्रयोजनका लागि मूल्यांकनकर्ता सूचीकृत गर्दा मुल्यांकनकर्ताको काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्व स्पष्ट रुपमा उल्लेख गरी सम्झौता गर्नुपर्ने छ ।
कर्जा–निक्षेप अनुपात तोकिएभन्दा बढी भएमा बैंक तथा वित्तीय संस्थाहरुले २०७९ असार मसान्तभित्र तोकिएको अनुपात कायम गरिसक्नु पर्नेछ । यसका लागि तोकिएको कर्जा निक्षेप अनुपातको अनुपालनाको लागि मासिकरुपमा अनुगमन हुने गरी निक्षेप परिचालन र कर्जा प्रवाहलाई व्यवस्थित गर्नुपर्ने छ । २०७९ असार मसान्तसम्ममा यस अनुपातलाई निर्धारित सीमा भित्र कायम गर्न आवश्यक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंकसमक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्ने पर्ने छ ।






















