एमसीसी सम्झौता यथास्थितिमा अस्वीकार गर्नुपर्छ : नेकपा एकीकृत समाजवादी


काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता यथास्थितिमा अस्वीकार गनुपर्ने बताएको छ ।
प्रधानमन्त्री देउवाले एमसीसी संसदमार्फत अघि बढाउने प्रयत्न गरिरहेका बेला सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले अहिलेको अवस्थामा एमसीसी पारित हुन नसक्ने भन्दै बरु त्यसलाई अस्वीकार गर्नुपर्ने बताएको हो । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले अमेरिकाले दिने ४२ अर्ब रुपैयाँभन्दा राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थिरता र नेपाली जनताको मनोभावना जोगाउनु महत्वपूर्ण भएको बताए ।
‘अहिलेको अवस्थामा एमसीसी पारित हुँदैन र अमेरिकाले दिने ४२ अर्ब रुपैयाँभन्दा हाम्रो राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता, राजनीतिक स्थिरता र नेपाली जनताको मनोभावना जोगाउनु हाम्रा लागि महत्वपूर्ण कुरा हो, हामी त्यो जोगाउँछौ’, प्रवक्ता खतिवडाले भने, ‘सर्वदलीय बैठकमा प्रधानमन्त्रीले प्रस्ताव गर्नुहुन्छ, गर्नुहुन्न त्यो उहाँको कुरा हो तर हामी त्यसलाई स्वीकार्दैनौ ।’
प्रधानमन्त्री शेरबहादुर देउवा सरकारका तर्फबाट आगामी संसद बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने पक्षमा छन् । प्रतिनिधिसभाको अर्को बैठक पुस ६ गते बस्दैछ । त्यसअघि उनले सर्वदलीय बैठक बोलाएर आइतबार अपरान्ह एमसीसीबारे छलफल गर्न लागेका छन् । सर्वदलीय बैठक अघि आइतबार बिहान सत्तारुढ नेकपा एकीकृत समाजवादीले काठमाडौको एक होटलमा एमसीसीबारे छलफल गरेको छ ।






















