Opens in a new tab

देश

वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगीको नियन्त्रण गर्न `र्‍यापीड रेस्पोन्स टीम´ गठन

जगत ठाडा मगर
२०७८ पुस ३ | मध्यान्ह ०३:०९ बजे

काठमाडौं । सरकारले वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगीको नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली (र्‍यापीड रेस्पोन्स टीम) गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित अन्तर निकायको प्रतिनिधित्व हुने गरी र्‍यापीड रेस्पोन्स टीम गठन गरिएको हो ।

विभागका निर्देशकको संयोजकत्वमा गठन गरिएको र्‍यापीड रेस्पोन्स टीममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय र नेपाल प्रहरीका प्रतिनिधिहरु सदस्य रहेका छन् भने सदस्य सचिवमा वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत रहेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार सम्बन्धी आउने गुनासोलाई तत्काल निराकरण गर्न, राहत, उद्धार तथा क्षतिपूर्तिको सिफारिस गर्नका साथै अन्तर निकाय समन्वयका लागि र्‍यापीड रेस्पोन्स टीम गठन गरिएको बताए ।

र्‍यापीड रेस्पोन्स टीमले वैदेशिक रोजगार व्यवस्थापनमा कुनै सेवा प्रदायक निकाय, संघ-संस्था तथा व्यक्तिले वदनियतपूर्वक काम गरिरहेको वा गर्न लागेको कुनै सूचना प्राप्त भएमा छानबिन गर्ने, आवश्यक निर्देशन दिने तथा थप अनुसन्धानका लागि सिफारिस गर्नेछ ।

वैदेशिक रोजगार सम्बन्धी कामलाई व्यवस्थित तथा मर्यादित बनाउन, कानुनको प्रभावकारी कार्यान्वयन गराउन र यस क्षेत्रमा आउने गुनासोको तत्काल सम्बोधन गर्न र्‍यापीड रेस्पोन्स टीमले काम गर्नेछ ।

कमेन्टहरु