एमालेको केन्द्रीय सल्लाहकारमा भीम रावल


काठमाडौ । नेकपा एमालेले निवर्तमान उपाध्यक्ष डा. भीम रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीबिहीन भएका थिए ।
अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न पाउने पार्टीको व्यवस्थामा डा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताए । उनले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा. रावलको परामर्शबमोजिम हुने स्पष्ट पारे । पार्टीको गत मंसिर ५ र २६ गते बसेको केन्द्रीय कमिटीको बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।
पार्टीको १०औं राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीको बैठकका निर्णयमा रावलको जिम्मेवारी पनि परेको जनाइएको छ । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित डा रावलले आफू पार्टीको कुनै पदमा नरहे पनि पार्टीभित्रका कमजोरी सुधार्न लागिपर्ने जनाउँदै आएका छन् ।






















