काँग्रेस महाधिशवेन : केन्द्रीय सदस्यको मतगणना आजदेखि सुरु


काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्रीतर्फको मतगणना सम्पन्न भएको छ । सोमबार सम्पन्न निर्वाचनको मतगणना शुक्रबार सकिएको निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना आजदेखि सुरु हुनेछ । बिहान १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । काँग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि चार हजार ७४३ रहेका छन् । काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको निर्वाचनमा जम्मा ४८७ जनाले उम्मेदवारी दिएका थिए ।
केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति १५, खसआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने काँग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने छन् ।






















